ललितपुर, पुस १५
गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित वेलुवनाराम विहारमा आज मंगलवार जेष्ठ नागरिकलाई लक्षित बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाण्डौं मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोग तथा गोदावरी नगरपालिका स्वास्थ्य शाखा, निरोग फार्मेसी र झिगु आयुर्वेदको सहकार्यमा शिविर आयोजना गरिएको हो।

शिविरमा आँखा रोग, नाक–कान–घाँटी, दन्त सेवा, जनरल मेडिकल, जनरल सर्जरी, हाडजोर्नी तथा नसासम्बन्धी, छाला रोग र स्त्री रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। साथै भिडियो एक्स–रे, ल्याब परीक्षण र ई.सी.जी. जस्ता परीक्षण सेवासमेत निःशुल्क उपलब्ध गराइयो। आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो।

वडा कार्यालयको बजेट व्यवस्थापनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको शिविरबाट जम्मा १५६ जना जेष्ठ नागरिक लाभान्वित भएका छन्। कार्यक्रमको अवलोकन माननीय श्री रघुनाथ महर्जन तथा गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जनज्यूले गर्नुभएको थियो।

