ललितपुर, चैत ४
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले केन्द्रीय सरकारले कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गरिरहेको उल्लेख गरे।
उनले सहकार्यका माध्यमबाट समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रको सहकार्यले आर्थिक विकासलाई गति दिने विश्वास व्यक्त गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन महानगर तत्पर रहेको बताए।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरका विभिन्न क्षेत्रमा लगानीको सम्भावना अध्ययन भइरहेको जानकारी गराउँदै ललितपुरमा विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी भइरहेको बताए।
यसै अवसरमा भाषा, साहित्य, कला तथा संस्कृति संरक्षण एवं संवर्द्धनमा योगदान पुर्याउने संस्कृतिविद् छत्रबहादुर कायस्थलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।
