ललितपुर, फागुन २६
सफल महिला समूहले आफ्नो दोस्रो साधारणसभा तथा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको छ।
ललितपुरकी मिस नेवा २०८१ प्रलिसा शाक्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमले महिला सशक्तिकरणको महत्वलाई उजागर गर्यो। साथै, २०५६ सालको अन्तर्राष्ट्रिय आठौँ सार्क भलिबल प्रतियोगितामा नेपालका तर्फबाट कास्य पदक जित्न सफल समूहकी सदस्य भलिबल खेलाडी रुपा महर्जनलाई सम्मान गरियो।
त्यसैगरी, आफ्ना कमजोरीलाई चिर्दै अगाडि बढ्न सफल ललितपुर महानगरपालिका वडा नं. ४ की लक्ष्मी थापालाई, वडा नं. २६ की महिला सदस्य सरस्वती महर्जनलाई तथा हालै महोत्तरीमा सम्पन्न राष्ट्रिय बुदोकैदो प्रतियोगितामा महिला खुला तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्ने सुनाकोठी बुदोकैदो क्लबकी खेलाडी एशोधा चन्दलाई समेत विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा सफल महिला समूहकी अध्यक्ष सुनिता खड्काले समूहले स्वास्थ्य, शिक्षा, व्यक्तिगत तथा व्यवसायिक विकासका साथै महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यमा प्रतिबद्ध रहेको बताइन्। साथै, नेपाली उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने तथा आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन्।
समारोहमा प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिका वडा नं. २६ का अध्यक्ष सुरेश महर्जन रहेका थिए। विशेष अतिथिहरूमा सगरमाथा आरोही कल्पना महर्जन, वरिष्ठ भलिबल प्रशिक्षक भरत यादव, महिला सदस्य सरस्वती महर्जन तथा मिस नेवा २०८१ प्रलिसा शाक्य लगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले महिलाहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सशक्तिकरणलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

