ललितपुर, फागुन २३
ललितपुर महानगरपालिका वडा नं २७ स्थित श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा स्थापित श्री बालकुमारी कल्याण राहत कोषमा आर्थिक सहयोग गरेका छन्। विद्यार्थीहरूले अनुशासनहीन कार्यको जरिवानाबाट संकलित रू ५०२० कोषमा हस्तान्तरण गरेका हुन्।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले उक्त रकम विद्यालयका प्रधानाध्यापक श्री सुर्य कुमार राईलाई हस्तान्तरण गरेका थिए। संकलित रकममध्ये कक्षा ३ बाट रू ६०५, कक्षा ५ बाट रू १०००, तथा कक्षा ८ बाट रू ३४१५ संकलन गरिएको थियो।
विद्यालयले स्थापना गरेको राहत कोष विद्यालयमा घाइते भएका विद्यार्थीहरूको उपचार, शैक्षिक सामग्री खरिद तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ। कोषका सञ्चालक रीता श्रेष्ठका अनुसार इच्छुक व्यक्ति वा समूहले आफ्नै इच्छाअनुसार रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।
विद्यालयका करिब ५५० जना विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विश्वास गरिएको छ। अनुशासनहीन कार्यको जरिवानालाई सामाजिक सेवामा रूपान्तरण गरेर विद्यार्थीहरूले सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।
