ललितपुर, फागुन २१

ललितपुर महानगरपालिका–१४ स्थित सामुदायिक भवन हलमा “महिला, बालबालिका र मानव अधिकार” सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम सामुदायिक विकास केन्द्रका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. डा. गोबिन्द प्रसाद थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा डा. थापाले महिला सशक्तीकरण, महिला शिक्षा, सामाजिक समानता, लैंगिक भेदभाव, घरेलु हिंसा तथा महिला बालबालिका अधिकारसम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिएका थिए। उनले महिला हिंसा विरुद्धको सचेतना, सामाजिक स्थायित्व र समानताको महत्त्वबारे समेत जानकारी गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका–१४ का वडा अध्यक्ष अमृत जंग महतले जन्मपछि नै सबैलाई समान मानव अधिकार सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरे। उनले महिलाका लागि धेरै सकारात्मक परिवर्तन आइसकेको उल्लेख गर्दै वडामा महिलाका हक, अधिकार र सुरक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए।

त्यसैगरी, जिल्ला प्रहरी परिसरअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट सहायक निरीक्षक लक्ष्मी घिमिरेले ललितपुर जिल्लामा पछिल्ला तीन वर्षमा महिला हिंसा, जबरजस्ती करणी, घरेलु हिंसा तथा हराएका व्यक्तिहरूको खोजी सम्बन्धी घटनाका विवरण प्रस्तुत गरे। उनका अनुसार घरेलु हिंसा र जबरजस्ती करणीका घटनाहरू बढी दर्ता भएका छन् भने हराएका व्यक्तिहरूको खोजीका लागि निवेदन संख्या पनि बढ्दै गएको छ।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) चित्र बहादुर भट्टराईको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, महिला समूहका पदाधिकारी तथा स्थानीय समुदायको व्यापक उपस्थिति रहेको थियो। ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित यो कार्यक्रम महिला, बालबालिका र मानव अधिकारका विषयमा सचेतना फैलाउने महत्त्वपूर्ण अवसर बनेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *