ललितपुर, फागुन २०

गोदावरी नगरपालिका अन्तर्गत चापागाउँ आयुर्वेद औषधालयद्वारा आयोजित नागरिक आरोग्य कार्यक्रम अन्तर्गत वरिष्ठ कविराज निरीक्षक सन्तोष श्रेष्ठले आयुर्वेदसम्बन्धी जानकारी प्रदान गरे। उनले आयुर्वेदिक औषधिहरू जहाँ पाइयो त्यहीँ प्रयोग गर्न नहुने बताउँदै, संस्थामा उपलब्ध सेवा तथा सुविधाबारे जानकारी गराए।

उनका अनुसार, संस्थाले सामान्य रोगहरूको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। उनले यस संस्थाले २३ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराउने जानकारी दिँदै, जेष्ठ नागरिकहरूलाई निःशुल्क उपचार तथा औषधि वितरण गर्ने, साथै सुत्केरी महिलाहरूलाई ६ महिनासम्म दूध बढाउने औषधि प्रदान गर्ने व्यवस्था रहेको बताए।

उनले पञ्चकर्म सेवाबारे विस्तृत जानकारी दिँदै, संस्थामा उपलब्ध सेवाहरू जस्तै एकाङ्ग स्वेदन, सर्वाङ्ग स्वेदन, शिरोधारा, नस्य, पत्र पोतली, नेति, जानु वस्ती, ग्रिवा वस्ती, कटी वस्ती लगायतका उपचार विधिहरू रहेको जानकारी दिए। उनले पञ्चकर्म सेवाको माग बढिरहेको समेत बताए।

यसै अवसरमा, कविराज निरीक्षक दुर्गा गौतम खनालले जडीबुटी र आयुर्वेदको उद्देश्य बारे जानकारी दिइन्। उनले अस्वस्थ व्यक्तिलाई स्वस्थ बनाउनु नै आयुर्वेदको प्रमुख उद्देश्य भएको उल्लेख गरिन्।

उनले दुबो, तेजपात, गुर्जु, हलहले, बाबरी, बेलपत्र, तुलसी, बेसार, लेमन ग्रास, घ्यूकुमारी जस्ता जडीबुटीहरू आयुर्वेदिक औषधिको रूपमा महत्त्वपूर्ण रहेको बताइन्। साथै, आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा कम्पनीको नाम नभएको औषधि नखानु पर्नेएकजनालाई दिइएको औषधि परिवारका अन्य सदस्यहरूले प्रयोग नगर्नु पर्ने बारे सचेत गराइन्।

यस प्रकारका कार्यक्रमहरूले नागरिकहरूलाई आयुर्वेदिक चिकित्सा प्रणालीबारे सचेत गराउन मद्दत गर्ने विश्वास लिइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *