ललितपुर, पुस २१
नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्दै निवर्तमान कार्य समितिलाई विदाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थप क्रियाशीलताको आवश्यकता रहेको बताउनुभयो।
अध्यक्ष दाहालले सत्यतथ्यमा आधारित पत्रकारितामात्र समाज रूपान्तरणमा सहायक हुने भन्दै जिम्मेवारीपूर्वक समाचार प्रस्तुत गर्न आग्रह गर्नुभयो।
यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघलाई नागरिक संस्थाको रूपमा मर्यादा र उचाइमा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारका अधिकार संरक्षण र दायित्व निर्वाहमा महासंघको भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
ललितपुर शाखाका नवनिर्वाचित अध्यक्ष रामहरि कार्कीले जिल्लामा सञ्चालित मिडियाको व्यवस्थापन र पत्रकारका हकहितको संरक्षणमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
