ललितपुर, पौष २१

गोदावरी नगरपालिका वडा नं. १२ ठेचोमा शनिबार जेष्ठ नागरिक तथा स्थानीय नागरिकहरूका लागि बृहत निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सार्वजनिक नेपाल डेन्टल हस्पिटल एण्ड पोलिक्लिनिक, ताल्छीखेलको प्राविधिक सहयोगमा, जेष्ठ नागरिक चौतारी, ठेचो र वडा कार्यालयको संयुक्त आयोजनामा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा ११३ जनाले दन्त परीक्षण सेवा प्राप्त गरेका छन्। साथै, दन्त एक्स-रे, सुगर परीक्षण, दन्त ब्रस, र औषधि वितरण गरिएका छन्। शिविरका क्रममा ४५ जनाको दाँत निकाल्ने कार्य समेत सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचारमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। आयोजनामा दन्त विशेषज्ञहरूको टोलीले उपस्थित भएर दन्त समस्या समाधानमा विशेष ध्यान दिएका थिए।

यस किसिमका निःशुल्क शिविरले नागरिकहरूमा स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुग्ने र स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। शिविर सफल बनाउन प्राविधिक टोलीसहित स्थानीयको सहकार्य प्रशंसनीय रहेको आयोजकले बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *