तनहुँ, पुस २०
नेपालकाे हरिद्वार मानिने पवित्र हरिहर क्षेत्र देवघाटमा श्रीमद्भागवत कथा तथा श्रीमद् तारतमवाणी चर्चा आगामी पौष २८ गतेदेखि माघ ५ गतेसम्म आयोजना गरिने भएको छ। तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीकृष्ण कृपाधामको आयोजनामा हुन लागेको यस धार्मिक कार्यक्रमले भक्तजनहरूलाई अध्यात्मिक उन्नतिको मार्ग देखाउने अपेक्षा गरिएको छ।
यस महायज्ञमा श्रीकृष्ण मङ्गलम गुरुजी र नेपालकी प्रथम महिला भागवत वाचिका साध्वी १०८ तारा माताजीको मुखारविन्दबाट कथा वाचन हुनेछ। साथै, पाँचजना विद्वान गुरुजनहरूको टोलीले श्रीमद्भागवत र श्रीमद् तारतमवाणी पाठ सञ्चालन गर्नेछन्। सात दिनसम्म सञ्चालन हुने महायज्ञका प्रमुख आकर्षणमा कलश यात्रा, कृष्ण महिमा, पंचम भागवत् पाठ, दुई तारतम पाठ, र ब्रतबन्ध लगायतका गतिविधि समावेश गरिएका छन्।
देवघाटधाम हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभई विश्वभरिका तीर्थयात्रुहरूको लागि महत्वपूर्ण केन्द्र हो। त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा अवस्थित यो क्षेत्र तनहुँ, चितवन, र नवलपरासी जिल्लाहरूको सीमाना जोडिएको पवित्र भूमि हो। यहाँका ऋषि-मुनिहरूले हजारौँ वर्ष तपस्या र साधनाका माध्यमबाट मानव जीवनलाई भौतिक र अध्यात्मिक रूपमा समृद्ध बनाउन महत्वपूर्ण योगदान दिएका छन्।
देवघाटधामलाई संस्कृत अध्ययन र धर्मसंस्कृतिको प्रमुख केन्द्रका रूपमा मानिन्छ। यसै पुण्यभूमिमा वि.सं. २०६३ सालमा श्री प्राणनाथ अनाथ सेवा आश्रम स्थापना गरिएको थियो। यो आश्रम नेपालका प्रथम महिला भागवत वाचिका तारा माताजीको नेतृत्वमा चितवन, नवलपरासी, र तनहुँ जिल्लाका श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको सहकार्यबाट स्थापना भएको हो। उक्त आश्रमलाई सुदृढ बनाउन देशभरका सत्धर्मप्रेमी भक्तजनहरूले निरन्तर तन, मन, र धनले सहयोग गर्दै आएका छन्।
श्रीकृष्ण प्रणामी धर्मको मूल सिद्धान्त सतगुरु देवचन्द्रजी महाराज र महामति स्वामी प्राणनाथजीद्वारा प्रतिपादित वेद, धर्मशास्त्र, र दर्शनमा आधारित छ। यस सम्प्रदायले क्षर, अक्षर, र अक्षरातीत धारणा मार्फत ब्रह्मस्वरूप श्रीकृष्णको परा प्रेमलक्षणा भक्ति आत्मसात गरी आत्मालाई परमधामसम्म जागृत गराउने लक्ष्य राखेको छ।
देवघाटधामको प्राकृतिक सौन्दर्यता र धार्मिक महत्त्वले यस स्थानलाई नेपालीहरूको मात्र नभई सम्पूर्ण हिन्दूहरूको आस्थाको केन्द्र बनाएको छ। यही पुण्यभूमिमा पौष २८ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने महायज्ञले धर्म, संस्कृति, र मानव कल्याणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
महायज्ञ सफल बनाउन आयोजक श्रीकृष्ण कृपाधाम मन्दिर समिति तथा अन्य धर्मावलम्बीहरूले देशभरिका भक्तजनहरूलाई तन, मन, र धनले सहभागी हुन आह्वान गरेका छन्। धार्मिक आस्था र सामूहिक प्रयासले देवघाटधामको महत्वलाई थप उजागर गर्नेमा उनीहरूले विश्वास व्यक्त गरेका छन्।
