ललितपुर, पुस ५
यहि पुष १३ देखि २२ गतेसम्म हुने “देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी तथा व्यापार मेला-२०८१” मा देशभरका घरेलु उत्पादन तथा नेपाली सीप, कला र संस्कृति प्रदर्शन गरिने भएको छ। प्रदर्शनी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहनेछ।
यस मेलामा विभिन्न घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ। कृषि उत्पादन, गेडागुडी, जडीबुटी, मसला, चिया, बाँस, माटो, काठ, पराल, खोस्टा, रेजिन, पित्तल, र क्राफ्टबाट बनेका सामग्रीजस्ता वस्तुहरू मेलाको मुख्य आकर्षण हुनेछन्। परम्परागत प्रविधि, घरायसी तथा कार्यालय सजावटका सामान, हस्तकलाका विविध सामग्री र नेपाली बाद्यवादनका सामग्रीहरू समेत प्रदर्शनीमा समावेश छन्।
ढाका, खादी, सुती कपडा, गाँजा, सिस्नोका उत्पादनहरू, जुत्ता-चप्पल, टोपी, पर्स तथा व्यागजस्ता सामग्रीको पनि प्रदर्शन र बिक्री गरिनेछ। त्यस्तै, नेपाली जातजातीको परम्परागत पहिरन र गरगहना, गलैंचा, राडीपाखी, उलनबाट बनेका वस्त्र, क्यानभास आर्ट, पेन्टिङ र प्रिन्टिङ सेवाहरू समेत प्रदर्शनीमा उपलब्ध हुनेछन्।
मौलिक परिकारसहितको शुद्ध शाकाहारी रेस्टुरेन्ट, सिलाइ, बुटिक, गार्मेन्टका सेवाहरू, र उपहार सामग्रीले मेलालाई थप आकर्षक बनाउनेछ। साथै, नेपाली कला संस्कृति र सीपका प्रदर्शनले आगन्तुकहरूलाई मनोरञ्जनका साथै जानकारीसमेत दिने अपेक्षा गरिएको छ।
यस मेलामा अवलोकन तथा भ्रमणका लागि सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरिएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र नेपाली उद्यमको विकासमा योगदान पु¥याउन यो मेला विशेष हुने विश्वास गरिएको छ।
