सूर्य , आहालमा बसेछ
हुँस्सुलाई , साथमा लिएर
हुँस्सुको चिसोमा पन्छीहरू आकाश हेर्दैछन्
आकाशमा बादल लागेर होला–
जूनको माला ओझेलमा छ
हल्का आँखाको मोतीहरू मझेरीमैँ झर्दैछ
सुक्दैछ ! प्यासका गंगाहरू
हुँस्सुको बादल , फाँट्न नसकेर ।
काफलगास्से पन्छीहरूको स्वतन्त्रता
आज बन्देजमा छ
नि:सहाय बन्दैछ पन्छी शहरको भीडमा
अनि पहराको आँतमा
बन्देज , कहिले टुट्ने हो —
स्वतन्त्र निलो आकाशमुनि ।
आहाल बसेको सूर्यसँगै
हराउँदै छ जूनको मुस्कान
कहिले हट्ने हो ! बादलको घुम्टो —
प्यासको तृष्णा मेटाउँनलाई ।
जन्जीरलेझैँ , बाढीएको छ जिन्दगी
आँखाभरीको तृष्णालाई अँधुरो बनाउँदैछ
मित्रको अलौकिक भावन
शिमलको भुँवाझैँ उडदै छ, अनियंत्रित भएर
किन बस्दै छ , सूर्य आहालमा—
हुँस्सुलाई साथमा लिएर
एउटा माला बुन्नु थियो –
आँखाको मोती टिपेर
जूनको प्रतिच्छाया ।।
– बुद्धिमान महर्जन
