ललितपुर, असाेज ७
ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ ।
श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले यहि कार्तिक ६ गते देखि १३ गते सम्म आयोजना हुन लागेको श्री भृङ्गारेश्वर महादेव सुधार तथा बृद्ध सेवा समितिले जनाएकाे छ ।
प्रमुख वाचक, वाचन प्रविण पण्डित श्री दीनबन्दु पोखरेल रहेकाे छ । श्री भृङ्गारेश्वर महादेव आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान महायज्ञको प्रचारप्रसारमा व्यापक लागिपरेको छ ।



श्री भृङ्गारेश्वर महादेवकाे परिचय
श्री भृङ्गारेश्वर महादेव नेपालमा प्राप्त भएको विभिन्न नामका महादेवहरु मध्ये अति प्राचीन महादेव हो । गोपालराजवंशालीमा नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेवको प्रादुर्भाव पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने उल्लेख रहेको छ । श्री भृङ्गारेश्वर शिवलिङ्ग चतुषष्ठि स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्ये एक स्वयम्भू सिद्धज्योतिर्लिङ्ग हो । श्री भृङ्गारेश्वरको नाम स्कन्दपुराण, पशुपतिपुराण आदिमा पनि उल्लेख गरिएको पाइन्छ ।
श्री भृङ्गारेश्वर महादेव शिवलिङ्ग र यसका अन्य प्राचीनतम स्वरुपहरुलाई दृष्टिगत गर्दा करीब ५०९६ वर्ष अघि रचिएको महाभारत ग्रन्थमा पशुपतिनाथको उल्लेख पाइनाले, पशुपतिनाथ भन्दा अगाडि प्रादुर्भाव भएको हुनाले र किरातेश्वर शिवलिङ्ग समेतलाई मनन गर्दा श्री भृङ्गारेश्वर महादेव ५ हजार वर्ष भन्दा अगाडि नै भएको तथ्य स्पष्ट हुन आउँछ ।
श्री भृङ्गारेश्वर शिवलिङ्ग ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो । शिवलिङ्गपूजक सम्प्रदायमा ब्राह्म सम्प्रदाय सबै भन्दा प्राचीन मानिन्छ । ब्राह्म सम्प्रदायमा पनि शिवलिङ्ग र जलहरी दुवै ब्राह्म सम्प्रदायको भएको नेपालमा प्राप्त शिवलिङ्गहरु मध्ये श्री भृङ्गारेश्वर शिवलिङ्ग पनि एक हो । शिवपूजक सम्प्रदायहरुमा सबैभन्दा पहिले ब्रह्माले पूजन गरेको यो ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो ।
श्री भृङ्गारेश्वर महादेवलाई विभिन्न नामहरुले पुकारिएका छन् । श्री भृङ्गारेश्वर महादेवको नाम समय चक्रमा भृङ्गारेश्वर, भृङ्गेश्वर, भुङ्गेश, भीमभृङ्गेश्वर, भृङ्गीश्वर, सुवर्णेश्वर आदि नामले पुकारिएको पाइन्छ ।
श्री भृङ्गारेश्वर शिवलिङ्ग पारसमणि/स्पर्शमणि जस्तो भई पुजारीको कुशको औंठी सुनको औंठीमा परिणत हुने र घाँसीको हँसिया सुनको हँसियामा परिणत भएको कुरालाई विचार गर्दा अलौकिक शक्तिको महादेव भएको तथा पुजारीको लोभले गर्दा उक्त शिवलिङ्गको स्पर्शमा सुन हुन सक्ने सत् छिन्न भिन्न भएको वुढापाकाहरुको भनाइ रहेको छ ।
श्री भृङ्गारेश्वर महादेवको मन्दिर ललितपुर जिल्लाको दक्षिण भेगको सुनाकोठी ल.पु.महानगर पालिका बडा नं. २७ मा रहेको छ । सुनाकोठीको पहिले पहिलेको नाम सुरुथिग्रथि, शुरगुथि, सुनागुथि आदि रहेको पाइन्छ । श्री भृङ्गारेश्वर महादेवको स्थान भएकोले यो स्थान पवित्र पुण्यमूमि हो।

