काभ्रे, असार २४/ सन्तोष बजगाई
काभ्रे जिल्लाको दक्षिण भेग बेथानचोक गाउपालिका वडा नम्बर २ गेल्डुङ ढुंखर्कमा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालद्वारा संचालित श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्क अवस्थित रहेको छ।

आगामी मिति २०८१ साल कार्तिक २ गते देखि ८ गतेसम्म “श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव” हुन गईरहेको छ। यस अवसरमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु कृष्णमणिजी महाराजको पवित्र कर कमलबाट मन्दिर समु‌द्घाटन एवं कलस अनावरण सहित श्रीमत्तारतम सागर १०८ पाठ पारायण एवं श्रीकृष्ण कथा ज्ञान महायज्ञमा महाराजश्रीको मुखारविन्दबाट शुभआशिर्वचन भने अन्य पिठाधिश तथा गाधिपति महाराजजीहरु र नवतनधामका गाधीपति बाबाजी श्री १०८ अमृतराजजी महाराजको प्रमुख संरक्षकत्वमा हुन लागेको हो। साथै नेपालको केन्द्रिय धाम नवतन धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजी को मुखारबिन्द बाट कथा प्रवचन हुने छ।

ढुंखर्कमा निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार एवम् सुन्दरसाथ जागनीको इतिहास नवै पुस्ता बम्हज्योतिषका सात भाइ पुत्रहरु मध्ये जन्तरे सुपुत्र लक्ष्मण शर्मा र दम्वती सुन्दरबाईको कोखबाट बि.स. १९५३ सालमा साईला सुपुत्रको रुपमा परमहंस गुरुजी श्री १०८ युगलदासजी महाराजको जन्म भए पश्चात श्रीकृष्ण प्रणामी धर्ममा दिक्षित भएर वाणी चर्चनीको तालिम ठुलावा दयानदासजी बाट सिकी धर्म संरक्षक रहि बुबाहरुले गाई पालेको स्थान पुख्यौली थलो ढुंखर्कमा आएर श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गरे संगै जागनी अभियान शुरु भएको पाईन्छ।

काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर ३ साविक ढुंखर्क गा.वि.स वडा नम्बर १ को ठुलाचौरमा बि.स २०४८ साल असार ८ गतेका दिन श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष श्री कल्याण कुमार कार्की र सस्थापक सदस्य गुरुजी हेम प्रसाद दाहालको उपस्थित मा कृष्ण प्रसाद तिमल्सिना को अध्यक्षतामा प्रारम्भिक समिती गठन गरि अगाडि बढेको ईतिहास छ। २०५१ सालमा केदार नाथ तिमल्सिना अध्यक्षतामा श्रीकृष्ण प्रणामी धर्म अन्तर्गत रहिका अष्टमी चतुर्दशी बार्हे मेला चलाउदै आएका थिए। २०५४ सालमा गिरिन्द्र घिमिरेको अध्यक्षता मा देउसी भैलो को कार्यक्रम गरि केही आर्थिक सङ्कलन गरि अक्षयकोष को स्थापना भएको थियो।

२०६२ साल पुष ९ गते तत्कालिन श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेका जिल्ला सस्थापक अध्यक्ष श्री रघुनाथ तिमल्सिनाको विशेष पहलमा श्री भिमसेन तिमल्सिनाको अध्यक्षतामा ११ जनाको दुखर्क इकाई समिति गठन गरी केन्द्रमा दर्ता भएको थियो। बि.स २०६३ साल चैत शुक्ल पूर्णिमाका दिन बाइजुराज महारानीको प्राक्ट्य महोत्सवको तिथिका दिन श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कको स्थापना भएको हो अहिले उक्त मन्दिर १ रोपनी ९ आनामा अवस्थित छ। उक्त मन्दिर स्थापना गर्नका लागि ढुंखर्कका सम्पुर्ण सुन्दरसाथहरुको र स्थानीय वासिन्दा को सहयोगमा जग्गा उपलब्ध भएको पाईन्छ।

उक्त मन्दिर मा बि.स २०६६ साल कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म भएको धर्म जागनी महोत्सव को २७ पारायणमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय प्रवक्ता पं श्री कृष्ण प्रसाद सापकोटाज्यूको कर कमलद्वारा मन्दिरको शिलान्यास गरिएको थियो। उक्त कार्यकाम वाचकमा धर्मप्रचारिका बिदुषी उषा माता र भागवत वाचिका नारायणी माताको मुखारबिन्द बाट भएको थियो।

त्यसैगरी २०७० साल चैत २६ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गरिएको धर्म जागनी महोत्सव मा युवा कथाकार पण्डित श्री प्रल्हाद राज शास्त्री र बिदुषी माता उषा घिमिरे बाट अमृत रुपि कथा प्रवचन भई केही आर्थिक सहयोग सङ्कलन भई मन्दिर पुर्ननिर्माणको कार्य अगाडि बढेको थियो।

जागनी अभियानको इतिहासमा धामवासी गुरुजीहरु श्रीरमण दास अधिकारी, श्रीदिलदाश तिमल्सिना, श्री जुगलदास तिमल्सिना, सन्त राजदास लम्सालको मुख्य योगदान रहेको छ। हाल यस क्षेत्रमा प. कृष्ण प्रसाद सापकोटा, प. तुलसी प्रसाद कोइराला, शास्त्री उद्धव बजगाई, साहित्यचार्य जनार्दन घिमिरे, शास्त्री प्रल्हादराज न्यौपाने, विदुषी माता उषा घिमिरे,विदुषी नारायणी घिमिरे , प. युगल प्रसाद अधिकारी, शास्त्री घनश्याम अधिकारी, शास्त्री सुर्दशन तिमल्सिना, शास्त्री मनोज पराजुली, ज्यो. ध्रुबराज शास्त्री, शास्त्री पुरुषोत्तम खतिवडा प. गोविन्द अधिकारी र प्रचारक माता भगवती अधिकारी लगायतका धेरै धर्म प्रचारक गुरुजीहरुले जागनी अभियान अगाडी बढाउदै आईरहनु भएको छ।

पुर्णब्रम्ह परमात्मा साक्षात राज श्यामाजीसँग साक्षात्कार गर्न त प्रेम चाहिन्छ, त्याग चाहिन्छ समर्पण चाहिन्छ अनि चाहिन्छ त्याे धामकाे ट्याग लागेकाे ब्रम्हवासनाकाे भक्ति प्रेम । यहि उच्च आचरण समर्पण र प्रेमकी खानि ढुंखर्कका अग्रज सुन्दरसाथका कारण याे भूमि आज धन्य भएकाे छ । सबैले सभ्य भब्य र उत्कृष्ट यस कार्यक्रमकाे अवलाेकन र दिब्य ज्ञान रसपानकाे अवसर नगुमाउँ , सहभागी हाेआै ।

परब्रम्ह परमात्मा सच्चिदानन्द स्वरुप श्री राजश्यामाकाे भक्ति, स्वासंबेद तारतम सागरकाे अध्यन चिन्तन गरि दिब्य परमधामका युगलश्वरुपलाई ह्दयमा बिराजित गराई शुद्द शाहाकार जीवन शैली अपनाई मध्पान, धुम्रपान र नसालु पदार्थबाट टाढा रहि बसुधैवम् कुटुम्बकम् भावमा पराेपकार पुन्य मान्दै सेवा भावमा जीव प्रकृतिलाई माया गर्नु श्रीकृण्ण प्रणामी धर्मकाे मुल सिद्दान्त रहेकाे छ । समाजका अग्रजकाे त्याग समर्पण र वर्तमान युवामा धर्मकाे महत्व दर्शाउन, बिभेदकारी समाजकाे अन्त्य, आध्यात्मिक र सामाजिक सेवा अभिबृद्दि सहित हिन्दु सनातन धर्मकाे जगेर्ना गर्न समभाव बिश्वास र प्रेम बर्षिएकाे यस स्थानमा गुरु महाराजकाे ब्यवस्थापन, भाेजन पाण्डाल,सहभागीकाे आवास तथा पाउपाेष सबै सेवाकालागि स्वम् सेवक खटिएका छन् । कार्यक्रममा एक लाख बढि भक्तजन सहभागी हुनेछन र अनुमानित ७० लाख नगद र बिभिन्न जिन्सी सामाग्री संकलन गरि बचत रकमबाट मन्दिर सन्चालन गर्ने साथै बाकी रकम अक्षयकाेषमा राखिने संयाेजक गिता शर्मा ले बताउनु भएको छ ।

सप्ताह व्यापी यस ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्म, निजानन्द सम्प्रदाय अन्तर्गत रहि देशविदेशका विभिन्न स्थानमा रहनु भएका सन्त, महन्त, पण्डित, प्रचारक एवं समाजका लब्धप्रतिष्ठित विद्वान् विदुषीहरू, धर्मानुरागी श्यामाजीका अङ्ग सुन्दरसाथ लगायत भक्तजनहरूको प्रेमभक्तियुक्त उपस्थिति रहने छ । बेथानचोक गाउपालिका वडा नं १ मा च्याम्राङ्बेसी, वडा नं  २-३ मा ढुंखर्क, वडा नं ४ चलाल गणेश स्थान, वडा नं ५ च्यासिङ्गखर्क र वडा  नं ६ भुग्देउ सम्मको मिश्रित सेरोफेरोले यहाँको फेरिफेरी साह्रै रमाईलो छ । ढुंखर्कदेखी पूर्वमा रोशी गाउँपालिका, पश्चिममा ललितपुर जिल्लाको माहान्काल गाउँपालिका ,उत्तरमा पनौती नगरपालिका र दक्षिणमा खानिखोला गाउँपालिका सम्मको सिमाना रहेक्क छ। बेथानचोक-१ मा तीनतले झरना रहेको छ।

त्यस्तै,वडा–२ मा गेल्डुङ मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर त्यस्तै पाट्नेखोला मा अवस्थित शिव-पार्वती गुफाले पुरातात्त्विक महत्त्व साथ साथै गेल्डुङ बजारको मुटुमा अवस्थित मुक्तेश्वर महादेवको निवास छ त्यस्तै, वडा–३ झनै विशेष काभ्रे जिल्ला भरिकै महाभारत शृङ्खलाको अग्लो पहाड बेथानचोक नारायण स्थान रहेको छ। समुद्री सतहदेखि ३०१८ मि. को उचाइमा अवस्थित यस स्थान काभ्रे जिल्ला भरिकै एक सुपरिचित पर्यटकीय गन्तव्य हो । पदयात्रा गर्न मिल्ने सुन्दर मार्गहरू, सदाबहार जङ्गलहरू, बहुमूल्य जडीबुटी, विभिन्न प्रजातिका फूलहरू मानिसहरूलाई स्वागत गर्न तयार मुस्कानहरू साँच्चै मनै लोभ्याउने दृश्यहरू देख्न सकिन्छ। वडा नम्बर -४ मागुम्बु डाँडा को भ्यूटावरबाट चारैतिर देखिने आकर्षक हरियाली पर्यावरण बिचको च्याल्टी, कुने खर्क, महाँकालस्थान साथै खोपासीका हरिया फाँट, पनौती बजारको परिदृश्य देख्न सकिन्छ। जनयुद्ध कालको  चर्चित ठाउँ ‘कामिडाँडा’ अवस्थित वडा नम्बर -५,च्यासिङ्खर्क यसै पनि खोपासी –ताल्ढुङा अनि गेल्डुङ्ग  गोल्माकोट सडकको मिलनबिन्दु रहेकोले पनि विशेष छ नै । साथ साथै  ऐतिहासिक तथा धार्मिक महत्त्व  बोकेको श्री कपेर महाकाल मन्दिर र अङ्ग्रेज र गोर्खाली युद्ध गरेको गढी भन्ने ठाउँ रहेको छ।वडा नम्बर -६, भुग्देउ महाकाल यहाँको मिलेको भूभाग,मौलिक शैलीमा बनेका बासस्थान सहितको चिटिक्क मिलेको गाउँ, प्रकृतिको काखमा भुग्देउ तावरीमा रहेको कण्डारक ऋषिले तपस्या गरेको स्थल रहेको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बेथान चोकमा, ब्राह्मण, क्षेत्री, नेवार,दलित आदिको बसोबास छ । ब्राह्मण, क्षेत्री समुदायमा खैजेडी भजनमा ताली, चुट्का बजाउन नेवारी दाजुभाइको उपस्थिति रहन्छ । नेवारको धिमे बाजामा होस् वा तामाङको सेलो घन्किँदा सौहार्दताका  साथ अरु समुदाय सहभागी हुन पुग्दछन्, यसैबाट यहाँको समाजको  आपसी समझदारी, सहिष्णुताको यथार्थ चित्रण रहने खालको छ ।

उक्त ज्ञान महायज्ञमा तन, मन र धनले सहभागी भई परमात्माको सानिध्यताको अनुभुती गर्दै गाैरवपूर्ण यस कार्यक्रममा सबै सहभागी भई कार्यक्रम सभ्य,भब्य र सफल बनाउन सबैमा अनुराेध गरेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *