जागिर मेरो सरकारी हैन
नभई मेरो गुजारा चल्दैन
यसको ठेगान स्थायीत्व छैन
नगरौं त चुल्हो नै बल्दैन ।।
कार्यालयको हाकिम म हैन
मेरो आदेश हुकुम केही चल्दैन
घुम्ने कुर्सी कम्प्युटर यहाँ छैन
पङ्खा एसी हिटर केही बल्दैन ।।
भत्तापेन्सन कमिसन आउँदैन
ठग्न माग्न चाकडी जान्दिन
क्षमताले जागिर यहाँ पाउँदैन
अभिमान छ म झुक्न मान्दिन ।।
नगरौं त हातमुख नै जोरिन्न
शरीर अनि लाज पनि छोपिन्न
सन्तानको भविष्य कोरिन्न
आश्रय लिने ठाउँ कतै भेटिन्न ।।
मुस्किलले गर्जो नै टारे नि
आफ्नै काम पारिवारिक धन्दा
अभाव दुख सहनै परे नि
खुशी अनि यसमै छ आनन्द ।
– नरिश्वर गौतम
