ललितपुर, चैत १०
बागमती गाउँपालिका २ माल्टामा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ । ल्याटर डे , सेन्ट चारिटीज संस्थाको आर्थिक सहयोग तथा च्वाइस नेपालको व्यवस्थापनमा माल्टाका १९५ घरधुरीमा धारा जडान गरिएको छ।
छहरे खोला, पधेरो खोला, चिसापानी खानेपानी योजना कुल १ करोड ५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो। यस योजनामा ८८ लाख ३५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो भने ११ लाख ७० हजार जनश्रमदानबाट सहयोग भइ योजना सम्पन्न भएको थियो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमती प्रदेश सभा सदस्य मीन कृष्ण महर्जन र च्वाइस नेपालका कार्यकारी प्रमुख प्रतिक शर्माले संयुक्त रूपमा एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे।
घण्टौं लगाएर खानेपानीको जोहो गर्दै आएका बागमती गाउँपालिका–२ माल्टाका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् ।
पहिले एउटा घरमा भएको धारामा पाँच परिवारले खानेपानी थापेर पानी ल्याउनुपर्ने अवस्था थियो।
