ललितपुर,चैत ४
ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व राज बज्राचार्यले नेपालको चेम्बर आन्दोलनको इतिहासमा ५० वर्ष नाघेका थोरैमात्र संघ संगठनहरु छन् र त्यसमध्ये पनि निरन्तर सक्रिय र आफ्ना सदस्यहरुमाझ यस ललितपुर उद्योग वाणिज्य संघ लोकप्रिय रहेको बताउनु भयो ।
जिल्लाको सम्पूर्ण उद्यमी र व्यवसायीको एकमात्र सशक्त, सवल र सक्षम संस्थाको रुपमा रहेको यस संघलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले अघि बढाई आर्थिक सम्पन्नता तर्फ दोह¥याई सम्पूर्ण व्यवसायीको आस्थाको केन्द्र बनाउनेमा अध्यक्षले प्रतिवद्धता व्यक्त गर्नुभयो । ।
समारोहको समुद्घाटन गर्नुहुँदै माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको मेरुदण्ड नै आर्थिक पाटो हो । बाह्य र आन्तरिक क्षेत्र चलायमान नभईकन विकासले गति लिन्दैन । देशको आर्थिक विकासमा नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । साथै उहांले छिमेकी र बाह्य मुलुकहरुसंग परराष्ट्र सम्बन्धलाई अझ सुमधुर बनाई बाह्य लगानी भित्र्याउनेमा सहजीकरण गरि विकास निर्माण कार्यलाई अगाडि बढाउने तर्फ पनि सरकार गम्भीर भएर लागिपरेको पनि बताउनु भयो । नीजि क्षेत्रलाई साथमा लिई अगाडि नबढिकन देशको आर्थिक स्थिति चलायमान नहुने र उद्योगी व्यवसायीको समस्या प्रति सरकार जानकार रहेकोले देश विकासमा निजी क्षेत्रको सल्लाह, सुझाव र सहयोग लिई सरकार अघि बढ्ने बताउनु भयो । साथै उहांले उद्योग वाणिज्य क्षेत्रको विकासमा आफ्नो सहयोग जहिले पनि रहने समेत बताउनुभयो ।
ललितपुर प्रतिनिधि सभाका सांसद माननीय उदय शम्शेर राणाले देशको अर्थतन्त्र अहिले पनि सोचे जस्तो राम्रो अवस्थामा रहेको छैन । नयां नयां उद्योगहरु स्थापना हुनु नसक्नु, बाह्य मुलुकबाट लगानी कम आउनु, महंगी दिन प्रति दिन बढ्न गई सबै नेपालीलाई समस्यामा परेको बताउनु भई यसको छिटो भन्दा छिटो समाधानका लागि सरकार गम्भीर भएर लाग्नु पर्ने सुझाव दिनुभयो ।
सो समारोहमा ५७ औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए।

