ललितपुर, चैत ४

जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षिय करण प्रधान रहेका छन् । गत चैत १ गते टौखेलमा नक्कली नोट कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिइ प्रधानलाई नियन्त्रणमा लिएको थियो । प्रधानको साथबाट प्रहरीले रु १००० दरको नक्कली नोट २० थान, सक्कली रु १००० दरको १२ थान, अमेरिकन ५ डलरको नोट थान २, अमेरिकन १ डलरको नोट थान ३ र आई फोनसमेत फेला परेको थियो ।

प्रधानसंग थप सोधपुछ गर्दा जिल्ला काभ्रे, मण्डनदेउपुर नगरपालिका ११ तिमिल्सिना गाउँका संजय अधिकारीको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र ललितपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले रु १००० दरको नक्कली नोट ११५ थानसमेत बरामद गरेको छ ।

त्यस्तै, नक्कली नोट बनाउने कार्यमा संलग्न जिल्ला काभ्रे, बेथानचोक–३ लप्सिबोट घर भई हाल बनेपा–५ स्थितमा एच.एम मोबाईल केयर संचालक सबिन हुमागाईसमेत पक्राउ गरेको छ । प्रहरीले उनले संचालन गरेको एच.एम मोबाईल केयरमा गई खानतलासी गर्दा रु १००० दरको नक्कली नोट ६९ थान र रु ५०० दरको नक्कली नोट १ थान नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर थान १, ल्यपटप थान १, नक्कली नोट छाप्न प्रयोग गरिने सादा पेपर ४०० पिस, मोबाईल थान १ फेला बरामद गरेको छ ।

नियन्त्रणमा लिएकाहरुलाई मुद्रा सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *