ललितपुर, फागुन २३
यही फागुन ३० देखि चैत्र १ गतेसम्म ‘यल इतिल्हन सम्यक महादान पर्व हुने भएको छ। गोल्डेन टेम्पल नामले विश्व प्रसिद्ध २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले यो पर्व आयोजना गर्न लागेको हो ।

‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले विभिन्न विहारका दिपंकर बुद्ध, तारा लगायत अन्य देवीदेवता, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्यभिक्षु तथा बज्राचार्य आदिलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको कथन छ।

फागुन ३० गते बुधवार ललितपुरको मुख्य १८ विहारका साथै चापागाउँ, बुंगमति, किर्तिपुर, काठमाडौं, ललितपुर, भक्तपुरका महाविहारहरुबाट विशालकाय दिपंकर बुद्ध, आर्यतारा तथा अन्य देवीदेवताहरुलाई पाटन दरवार क्षेत्रमा भेला गराउने कार्यक्रम रहेको छ।

यसै दिन राति ७ बजे सुरु हुने यो भेला पश्चात राति ९ बजे विभिन्न सांस्कृतिक बाजागाजा र लावालस्करसहित ज्येष्ठवर्ण महाविहार तंगःबहाः गइ श्री वसुन्धरा देवीलाई जात्रा गरी पाटन दरवार क्षेत्रमै ल्याएपछि सम्पूर्ण दिपंकर बुद्ध तथा अन्य देवीदेवताहरु लस्करै मंगलबजारबाट नागबहाल पुर्याइने गरिन्छ।

सम्यक महादान स्थल नागबहाल ढोका परम्परागत लसकुस वा स्वागत गरी निर्धारित स्थानमा क्रमवद्ध रुपमा विराजमान गराइने परम्परा राति १० बजे आरम्भ भइ रातको १ बजेसम्म निरन्तर रहन्छ। 

चैत्र १ गते अर्थात सम्यकको दोश्रो एवं मुख्य दिनमा विहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनहरुलाई विराजमान दिपंकर बुद्ध तथा देवीदेवताहरुको पूजाआजा तथा दर्शन गराइने कार्यक्रम रहेको छ भने यही समय नागबहाल ढुंगेधारा परिसरमा विशालरुपमा धाःबाजा तथा बाँसुरी बाजा प्रदर्शन गरिनेछ । यस बर्ष यस पर्वका लागि अक्षयकोष स्थापना गर्ने ललितपुर महानगरपालिकालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। 

दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमिशोधन पूजाका साथै दान प्रदान कार्यक्रम सम्पन्न गरी साँझ ५ बजे दिपंकर बुद्ध तथा देवीदेवता आ–आफ्नो विहारमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

परन्तुसम्म पर्व संचालनका लागि गुथि एवं आयस्था समेत स्थापना गरेका भलिभारो परिवारले आरम्भ गरेको यो परम्परा ७७३ बर्षदेखि निरन्तर छ।  वि.सं. १८६१ सम्म प्रत्येक बर्ष आयोजना भएको यो पर्व सो अवधिमा राजा रणबहादुर शाहले सम्यक गुथिको जग्गा अधिकरण गरेपछि आयस्थाको कमिले प्रत्येक चार बर्षसम्म आयस्ता जम्मा गरी पाँचौं बर्षमा पर्व आयोजना गर्ने परम्परा बसेको हो। 

हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले यसपालि सम्यक महादान महादान पर्वमा कूल १२५ दिपंकर बुद्ध तथा अन्य देवीदेवताको सहभागिता रहने बताए । अध्यक्ष बज्राचार्यले यस कार्यक्रमका लागि ३० देखि ३५ लाख रुपियाँ खर्च हुने र ललितपुर महानगरपालिकाले यस पर्वका लागि ५० लाखको अक्षयकोष स्थापना गरिदिएको जानकारी दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *