शनिवारको दिन
सुतेँ अलि छिन
उठेँ ताजा भएँ
भान्सातिर गएँ ।।

खाजा पानी खाएँ
गृहकार्य भ्याएँ
साग माम खाएर
एकछिन खेल्न गएँ ।।

खाजा खाने बेलामा
बाबाआमा मेलामा
सोधेँ खाजा के खाने
रोटी बनाम म भनेँ ।।

बनाकी छैन कहिले
सिक्नु पर्छ पहिले
भन्नुस् बुझ्ने गरी
रोटी बन्छ कसरी ?

बाबाआमा भन्दै
मैले गएँ सुन्दै
भनेजति मानेँ
अब मैले जानेँ ।।

फर्केर घरमा गएँ
पहिले हात धोएँ
पुछी सुक्खा पारेँ
अनि सुरु गरेँ ।।

एउटा बाटा लिएँ
पुछेँ सफा बनाएँ
पिठो नापी खनाएँ
किराकिरी केलाएँ ।।

जगमा पानी लिएँ
अलिकति खन्याएँ
पानी पिठो मिलाएँ
मुछ्दै डल्लो बनाएँ ।।

केहीबेरसम्म माडेँ
एकछिन ढाकी छाडेँ
बेल्ना चक्ला खोजेँ
तावा र ताप्के रोजेँ ।।

एकछिन पिठो माडेँ
गोला बनाई छाडेँ
बाआमा आउनुभो
मेरो काम हेर्नुभो ।।

साह्रै उत्सुक थिएँ
गोलो हातमा लिएँ
चेप्टो चेप्टो बनाएँ
हल्का पिठो लगाएँ ।।

चक्लामा राखी रमाएँ
बेलना हातले समाएँ
बिस्तारै थिच्दै घुमाएँ
बाटुलो रोटी बनाएँ ।।

बाबालाई बोलाएँ
अनि चुलो जलाएँ
चुलोमा तावा तताएँ
रोटी राखी सेकाएँ ।।

फर्काईफर्काई सेकाएँ
पाक्यो कि भन्दै देखाएँ
बाआमालाई चखाएँ
मैले रोटी पकाएँ ।।

नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *