म बेरोजगारी
तिमी कर्मचारी
मेरो घरधन्दा
तिम्रो सरकारी ।।
तिम्रो तलब आउँछ
मलाई चिन्ता लाउँछ
तिम्रो पेन्सन पाक्छ
मलाई ऋण लाग्छ ।।
तिम्रो हातमा कलम छ
मेरो हातमा मस्को छ
तिमी हस्ताक्षर धस्काउँछौ
म काला कराही मस्काउँछु ।।
तिम्रो टेबलमा फाइल छन्
मेरो जुठेनमा जुठा वर्तन छन्
तिमी कम्प्युटर चलाउँछौ
म अगेनो र चुलो जलाउँछु ।।
तिम्रो सुकिलो पोसाक छ
मेरा वस्त्र हेर्नेलाई मजाक छन्
तिम्रा खुट्टामा बुटजुत्ता छन्
मेरा फुटेका खाली खुट्टा छन् ।।
तिमी गाडि र स्कुटी हाँक्छौ
म गाँसेको चप्पल पड्काउँछु
तिम्रो संसार फराकिलो छ
मेरो आफ्नै कोठा संसार छ ।।
तिम्रो विचार असल र उच्च छ
मेरो विचार खराब र तुच्छ छ
तिमीलाई दुनियाको वा वा छ
मलाई दूरदूर र छ्या छ्या छ ।।
तिमीलाई धेरैले माया गर्छन्
मलाई दुनियाले घृणा गर्छन्
तिम्रो स्थायी जागिर र पैसा छ
त्यसैले त सदावहार बैँस छ ।।
तिम्रो साथमा पो सारा संसार छ
तिमीमा छलछाम छैन सदाचार छ
हो म एक्लै छु मेरो सर्वस्व हौ र त
मभित्र मात्र तिम्रा लागि प्यार छ ।।
मेरो न असल व्यवहार न बानी छ
तिम्रो पो मधुर र वचनामृत वाणी छ
तिमीमा त न कुनै घमण्ड र रिस छ
मेरो त बोलीवचनमै घातक विष छ ।।
तिम्रा साथी ठुला हाकिम छन्
मेरा भने मजस्तै दासदासी छन्
तिमी देशको प्रशासन चलाउँछौ
म मुस्किलले घरवार मिलाउँछु ।।
हाकिम नै तिम्रा भगवान् महान
श्रीमती राक्षस र दानव समान
सहकर्मी तिम्रा देवीदेवता भए
राहुकेतु भए परिवार जहान ।।
तिम्रो लागि त कार्यालय नै स्वर्ग छ
त्यसमै तिमीलाई आनन्द र गर्व छ
त्यहीँ सुरा, सुन्दरी र अप्सरा छन् र त
परिवार तिम्रो लागि पिडाको नर्क छ ।।
म तिम्री गृहिणी व्यभिचारी श्रीमती
तिमी त भलादमी पत्नीभक्त पति
तिमी त जागिरे त्यो पनि सरकारी
म पो काम न काजकी बेरोजगारी ।।
तिमी हौ कहिलै केही गल्ती नै नगर्ने सद्दे
म पो त संसारमा खराब र बिग्रेका मध्ये
तिमी त असली शुद्ध बेदाग अकबरी सुन
मेरा छन् खोटैखोट कमजोरी र बैगुन ।।
तिमी त संसारलाई जितेको मान्छे
तिमीलाई दुनियाले जयजयकार गर्छ
म पो सबैसँग हारेको निरीह छु र
झुक्नु, हार्नु र माफी मागिरहनु पर्छ ।।
तिमीले युगौँसम्म पनि हाँसेर जिउनु पर्छ
तिमी अजर अमर रहन अमृत पिउनुपर्छ
म पो पलपल मरेर बाँच्नुपर्ने बाध्यता छ र
फाटेको टुक्रेको मुटु बारम्बार सिउनुपर्छ ।।
तिमी नागरिक र राष्ट्रसेवा गर्छौ
तिमी सम्पन्न उच्च वर्गमा पर्छौ
मलाई म आफूप्रति नै हीनता छ
तिमी र ममा धेरै भिन्नता छ ।।
तिमी सम्पन्न तिमीलाई स्वर्ग यहीँ छ
तिमी स्वावलम्बी ऐस ऐश्वर्य घरमै छ
मलाई पो अभाव, पीडा र चिन्ता छ
त्यसैले तिमी र ममा धेरै भिन्नता छ ।।
- नरिश्वर गौतम
