काठमाडौं, माघ २५
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले उक्त क्यान इन्फोटेक मेलाको उद्घाटन गरेकी हुन् ।
सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’’ मन्त्री शर्माले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’’
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी शुरु भएको हो । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको बताए ।
प्रदर्शनीस्थल भृकुटीमण्डपमा रहेका सम्पूर्ण हल तथा परिसरका सुविधायुक्त ट्रसमा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्रान्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरू फिन्टेक, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, डिलर र डिस्ट्रिब्युटर्स, आईटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इनोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनी, अफिसियलहरू, प्रायोजकहरू र फुड कोर्टसमेत गरी १५० वटा स्टल रहेका छन् ।
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणका लागि रू. १०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ । यसका लागि डिजिटल वालेट ईसेवाबाट टिकेट खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।
