काठमाडौं, माघ २४
सोनम ल्होछार २८६० औं डुक मुपुखरीको अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।
समितिकाअनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा माघ २५, २६ र २७ गते ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो । तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरुद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन् ।
यस्तै, तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरुलाई स्टलमा प्रदर्शन गरिने नेपाल राष्ट्रिय तामाङका महासचिव प्रवीण बल तामाङ्ले बताए । उनका अनुसार पहिलो दिन बिहीबार अपराह्न ४ देखि बेलुकी ९ बजेसम्म सांस्कृतिक उपसमितिले कलाकारहरुद्वारा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नेछ ।
त्यस्तै, दोस्रो र तेस्रो दिन बिहान ८ देखि बेलुकी १० बजेसम्म क्रमशः विशेष पूजापाठपछि सांगीतिक कार्यक्रमहरु तय गरिएका छन् । तेस्रो दिन १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितिमा विशेष समारोह रहने छ ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेकाले सम्पूर्ण समुदायलाई आ–आफ्नो स्थानबाट उत्साहका साथ मनाउन सहअध्यक्ष नेपाल तामाङ घेतुङका सहअध्यक्ष कुमार घिसिङले आग्रह गरे । तामाङ समुदायको हक र हितका लागि स्थापना भएका सयौं सङ्घ संस्थाले एकतावद्ध भई समुदायको सांस्कृतिक महत्व र महिमा बोकेको सोनाम ल्होछारलाई साँस्कृतिक महत्वलाई उजागर गर्ने ढङ्गले महोत्सव मनाउँदै आएको उनले बताए ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर-घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दर्च्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामुहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँदछन् ।
