कुनै ठाउँमा फर्सीबारी भन्ने गाउँ थियो । त्यहाँका अधिक मानिस कृषि गर्थे र तरकारीहरु फलाउँथे । उनीहरु विभिन्न जातका बीउ छरेर फरक फरक फर्सी फलाउँथे । एक साल एकजना किसानको बारीमा अचम्मको फर्सी फल्यो । एउटै झालमा पनि अरु बेग्लै रङका र एउटा भने अलि फरक रङको फर्सी फलेछ । बुझ्नेहरुका लागि त ठूलो आश्चर्य थिएन, किनकि एउटै बोटमा पनि कहिलेकाहीँ फरक फरक रङका फल लाग्छन् । त्यो फर्सी पनि उस्तै लाग्यो र बारीमै बढ्दै गयो । अलि फरक भएकाले प्राय सबैले अलि आँखा लगाउँथे तर पनि फर्सी नै त हो भन्थे । फर्सी बढेर टिप्ने बेला भयो । त्यो झाल पनि अब सुकेर गयो । फर्सी सबै टिपेर राखियो । एकदिन किसानका घरमा कोही पाहुना आए । उनीहरुले त्यो फरक फर्सी देखेर अचम्म माने । उनीहरुले – यस्तो फर्सी त अलौकिक हुन्छ, सितिमिति फल्दैन । यो त अरुभन्दा विशेष हुन सक्छ, रुद्राक्षका अरु फल र एकमुखे फल झैँ भनेर उक्साए । फर्सीहरुले पनि उनीहरुका कुरा सुने । अरु फर्सी त न दुखी भए न खुशी तर त्यो फरक फर्सी भने भित्रभित्र मख्ख र खुशीले गदगद भयो । ऊ आफूलाई निकै सुन्दर, मूल्यवान् र अरुलाई सामान्य सोच्न थाल्यो । बिस्तारै त्यो फर्सीमा घमण्ड बढ्न थाल्यो ।
जति जति मान्छेहरु आउँथे र त्यसलाई हेर्थे उति प्रशंसा सुनेर उसमा घमण्ड बढ्दै गयो । अरु सबै फर्सी समय आएपछि बिक्री भए । तर त्यो फरक फर्सीले भने आफू अरुभन्दा विशेष मूल्यको भएकाले नबेच्न भन्दै गयो । धेरै पटक धेरै आए किन्न तर पनि उसको जिद्दि, रिसाउने बानी र घमण्डको अघि कसैको केही लागेन । फर्सी केही वर्ष बिक्री नभई बस्यो । एककान दुईकान, एकगाउँ दुई गाउँ हल्ला फैलिदै जाँदा धनी र सम्पन्न मान्छेहरुले पनि थाहा पाए । उनीहरु पनि हेर्न गए र अरुलेभन्दा धेरै मूल्य तिरेर लैजान खोजे । जति मान्छेले हेर्दै र मूल्य बढाउँदै गए फर्सिमा अहम् र घमण्ड बढ्दै गयो । उसले अझ आफ्नो मूल्य बढाउँदै लग्यो । यसै गर्दागर्दा धेरै समय फर्सी बिकेन । फर्सी बिक्न नमानेको देखेर घरपरिवार पनि वाक्क हुन थाले, नयाँ फर्सी टिपेर राख्ने ठाउँ अभाव हुँदा पनि त्यो फर्सी न बिक्री हुन्छ न उपयोग । तर पनि कसैले केही भन्न सक्ने हिम्मत थिएन । उससँग रिसाउनु, विवाद गर्नु भन्दा आफै चुप लागेर बस्न उचित ठान्थे । कताकता साँच्चै अलौकिक र मूल्यवान नै पो छ कि भन्ने लोभ पनि थियो । फर्सी भित्रभित्र आफ्नै सुरले सोच्न, चल्न थाल्यो । उसमा मनोमानी र स्वेच्छाचारिता बढ्यो । उसका बारेमा अरुले खासै चासो पनि राख्न छाडे । फर्सी धेरै वर्ष यसैगरी बस्यो ।
अब त मान्छेहरु हेर्न र किन्छु भन्न पनि आउन छाडे । जति दियो उति मूल्य बढाउँछ र जिद्दि र घमण्डी छ भन्ने थाहा पाए । समय बित्दै गयो, अब त फर्सीलाई पनि स्थान, सँगत परिवर्तन गर्न मन लाग्यो । अरु सबै फर्सीले बिउबाट धेरै फर्सी फलाइसके, उसलाई पनि आफ्ना बिउको सदुपयोग होस्, अरुले जस्तै नयाँ फल उत्पादन गर्न पाए हुने भन्ने रहर जाग्यो । आफू भने एक्लै, आफुभित्रका बीउ पनि अब त नउम्रने पो हुन् कि, कुहिने मक्किने पो हुन् कि भन्ने डर पनि लाग्यो । नभन्दै उसले थाहा नपाई भित्रभित्र बीउ कमजोर र अनुत्पादक बन्दै थिए । तर पनि उसको घमण्ड कम थिएन । अझ पनि कोही मान्छेले किन्न खोज्दा र किसानसँग कुरा गर्दा झर्केर रिसाएर बस्थ्यो । उसलाई अझ पनि आफू अमूल्य नै छु, धेरै आउछन् र छानीछानी मूल्य बढाएर बिक्री हुन्छु भन्ने लाग्थ्यो । समय धेरै बित्यो । अब त्यो फर्सिलाई पनि हतार लाग्न थाल्यो । उसले आफै ग्राहक खोज्न थाल्यो । तर अब हिजोका दिनमा जस्ता बढी मूल्य दिन तयार हुनेहरु आउन छाडे । फर्सीले भने कम मूल्यमा त नबिक्ने बरु यसै रहने जिद्दि गर्न थाल्यो । बेला बेला भने भित्रबाट सड्न, कुहिन थालेका बिउले पीडा दिन्थे र छिटै बरु सस्तैमा भएपनि बिक्री हुन पाए हुन्थ्यो भनेर सोच्न थाल्यो । कति पटक त उसलाई बिना मूल्य प्रयोग गर्न खोज्नेसँग पनि सँगत भयो । उनीहरुले पनि बाहिरी सुन्दरता हेर्न र मन बहलाउन मात्र पाए तर उसको बानी बुझेपछि सबै टाढिए ।
तर फर्सीले भने किसान र गाउँलेसँग आफू मूल्यवान् नै रहेको, केही खराबी नभएको घमण्ड र जिद्दि गर्दै थियो । उसले जसरी पनि आफूले चाहेको व्यापारी र मूल्य भेटाएरै देखाउने र तर आफू नहार्ने अठोट लियो । यसै क्रममा उसले एउटा व्यापारी भेट्यो । ऊ अलि जवान थियो, फर्सीलाई मन पनि परेको थियो । पछि जे गर्ला गर्ला अहिले अरुलाई हराउन र आफ्नो जित गर्न भएपनि यही मान्छेले जे जे भन्छ मान्छु, बरु आफूलाई सस्तैमा बेचेर भए पनि यसैलाई फसाउँछु भन्ने सोच गरायो र निकै पिछा लाग्यो । मान्छे भने आफ्नै दाउमा थियो । उसले मात्र त्यो घमण्डी फर्सीको रहस्य बुझ्ने र उपयोग गरेर मिल्काउने दाउमा थियो । केही समय प्रयास गरेपछि उसले पनि वास्ता गर्न छाड्यो । यता फर्सी झन झन् कमजोर हुँदै गयो तर पनि महसुस र पश्चाताप अलिकति पनि थिएन । यसैबिच एउटा व्यापारीसँग भेट भयो । उसले फर्सीको बारेमा अलिकति सुनेको र बुझेको पनि थियो । यतिका वर्षसम्म पनि बिक्री नभएको र अब त्यो फर्सी सड्ने, बिग्रने बेला पनि भइसकेको भन्ने सोचेर उसमा दया पलायो । व्यापारी पनि अघिल्ला व्यापारबाट धोका र घाटा खाएकाले दुखी र निराश थियो । फर्सीले पनि अब कताकता हार मानेर बरु यसैले किने पनि हुन्थ्यो भन्ने भइसकेको थियो । फर्सी र उक्त व्यापारीबिच एकअर्काप्रति कताकता दया र माया पलायो । बिस्तारै कुराकानी बढ्दै जाँदा एकदिन व्यापारीले मुखै खोलेर भन्यो – यदि तिमीले मलाई सहयोग गर्ने हो भने म तिमीलाई धेरै मूल्य दिन नसके पनि माया गरेर सुरक्षित र खुशी राख्छु ।
फर्सी अब दोधारमा थियो – उसले पनि यसो विचार गरेर हुन्छ नि त । ठिकै छ । अब पनि कति समय खेर फाल्नु, फेरि यतिको माया गर्ने र मूल्य पनि दिने भेटिएको बेला गुमाउनु हुँदैन भनेर प्रस्ताव स्विकार गर्यो । दुवैको सल्लाह अनुसार अब त्यो पीडित व्यापारीले फर्सी किन्यो । फर्सीको बारेमा सुनेर ऊ पनि मख्ख थियो, उसले निकै मूल्यवान् र कसैले किन्न नसकेको फर्सीलाई आफुले फकाएर किन्न सफल भएँ, अब त मेरा दिन सुध्रिन्छन् होला, यति धेरै गुण भएको, अलौकिक र मूल्यवान् फर्सी पाएँ भनेर दङ्ग थियो । उता फर्सी भने गाउँले र किसानसँग आफू हारेको भन्ने पछुतो थियो । र पनि घमण्ड र जिद्दि कम थिएन । मैले जे गरेँ ठिक र सही नै गरेको छु भनेर घमण्ड गरिरहेकै थियो । व्यापारीले निकै ठुला सपना र कल्पना गर्दै फर्सी घरमा लगेर सजाएर राख्यो । उसले यति धेरै महत्व र माया दियो कि त्यसको मातले फर्सीले उसलाई नै महत्वहीन बनाइदियो । फर्सीले व्यापारीलाई हेप्न, अपमान गर्न, रिस र घमण्ड देखाउन थाल्यो । उता के के न भेटेँ भनेर सब परिवार, आफन्त र इस्टमित्रसँग पनि सम्बन्ध बिगारेर फर्सी किनेको व्यापारी भने चिन्तित हुन थाल्यो ।
तर पनि उसले विवेक प्रयोग गरेर फकाउन थाल्यो । फकाउँदा र फुर्काउँदा फर्सी यति फुर्कियो कि उसले होस गुमायो । एक दिन उसले आफ्नो सबै वास्तविकता सुनायो । आफू पनि अरु फर्सी सरह नै भएको तर केही मानिसले यो त अलौकिक छ, मूल्यवान छ भनिदिएकोमा घमण्ड गरेर आजसम्म मूल्य बढाउँदै गएको र भित्रभित्र बिउ बेकाम हुँदै, कुहिँदै गएका र अब बाहिरी बोक्राको चमक र सुन्दरता पनि बिग्रन थालेको कुरा सुनायो । उसले व्यापारीलाई यस बिचमा निराश भएर वाक्क लागेर पनि आफ्नो जित हुन्छ भने बरु जे पनि गर्न तयार भनेर केही स्वार्थीको सँगत गर्दा उनीहरुबाट धोका खाएको पनि सुनायो । यी सबै कथाकहानी र विवरण सुनेर केही समय त व्यापारीमा फर्सीप्रति दया र माया पनि पलायो । उसले झन सजाएर सुरक्षित राख्न थाल्यो । फर्सीमा भने उसको दया र मायाबाट फेरि घमण्ड पलाउन थाल्यो । उसले पहिले मान्छेले दिएको मूल्यको घमण्ड र आफू सही सद्दे र उस्तै मूल्यवान् रहेको भन्दै व्यापारीलाई गाली गर्ने, अपमान गर्ने र रिस देखाउने गर्न थाल्यो । सहनुसम्म सहेपछि व्यापारीलाई पनि अति भयो ।
अब यसबाट केही आशा छैन भन्ने भएपछि फर्सीका भित्री रहस्य र वास्तविकता पत्ता लगाउनै पर्छ भन्ने सोचेर पटकपटक फकाउन थाल्यो । फर्सीले पनि पटकपटक आफ्नो वास्तविकता भन्दै गएपछि र दुर्गन्ध नै फैलाएर परिवार र व्यापारीको स्वास्थ्य बिगार्न थालेपछि व्यापारीले पनि आशा गुमायो । र अब यो कुहिएकै फर्सी हो, केही मान्छेले फुर्काएकै भरमा यतिका मूल्य र घमण्ड गरेको रहेछ, वास्तवमा यो भित्रभित्र सडेकै रहेछ, अब यसलाई राखेर भन्दा फ्याँकेरै चित्त बुझाउदा ठिक होला भन्ने ठान्यो । तर पनि उसको बाहिरी बोक्रा नै भएपनि केही काम लाग्छ कि भन्दै केही समय राख्यो । जति राख्यो उति दुर्गन्ध बढाउन थालेपछि एकदिन व्यापारीले पनि अरुले जतिसुकै राम्रो, मूल्यवान् भनेपनि मेरा लागि केही उपयोगी नहुने भएपछि किन माया, दया देखाएर राख्नु भन्दै बरु अबदेखि यस्तो व्यापार नै नगर्ने निर्णय लियो ।
कत्रो विश्वास र भरोषा गरेर, कति सपना देखेर, सुन्दर र समृद्ध भविष्यको कल्पना गरेको थियो तर फर्सीको वास्तविकता बुझेपछि फर्सीप्रतिको विश्वास हरायो । निराश भएको व्यापारीले पनि अब त्यो फर्सी नै हो, सडिसकेको छ, कुहिएको छ, बेकम्मा छ र कुनै महत्व छैन यकिन गरेर फोहोरमा फालिदियो । फोहोरमा मिल्काउँदा फर्सी फुट्यो र नभन्दै फर्सी कुहिएकै र महत्वहीन रहेछ । फर्सीको रिस, घमण्ड र जिद्दिले गर्दा उसका भित्री कमजोरी र वास्तविकता सधैँ गोप्य राख्यो, कसैले थाहा नपाएपछि कसैले टिप्पणि गरेन, औँला उठाएन फलस्वरुप कहिलै आफ्ना गल्ती, कमीकमजोरी सच्याउन नपाई सडेर गयो । कुनै पनि चिजप्रति विश्वास र महत्व तबसम्म मात्र रहन्छ, जबसम्म उसका भित्री गल्ती कमजोरी र वास्तविकता गोप्य नै रहन्छन् ।
– नरिश्वर गौतम
