काठमाडौं, माघ १६
विश्वभरका मुलुकहरु मध्ये सबैभन्दा न्युन भ्रष्टाचार हुने देश डेनमार्क रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सन् २०२३ को ‘करप्सन प्रसेप्सन इण्डेक्स’ अनुसार सबैभन्दा धेरै भ्रष्टाचार सोमालियामा हुने गरेको पाइन्छ ।
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८ औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) –२०२३ मा १०० मा ३५ अङ्क पाएर नेपाल उक्त स्थानमा परेको हो ।
यो वर्ष नेपाल गत वर्षभन्दा २ स्थान तल झरेको छ । पछिल्लो वर्ष नेपाल ११० औँ स्थानमा थियो । गत वर्ष नेपालले ३४ अङ्क पाएको थियो ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानले ६८ अङ्क पाएर २६ औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ । अफगानिस्तानले २० अङ्क पाएर १६२ औँ स्थान प्राप्त गरेको छ ।यस्तै, टीआई नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्क ९० अङ्क सहित कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा रुपमा परेको छ । टीआई नेपालले २९ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।
सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका तथा कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको ट्रान्सपरेन्सी इन्टरनेशलको ठहर छ । निरंकुश हुन वा लोकतान्त्रिक, नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहिनता बढेको निष्कर्ष प्रतिवेदनको छ । सीपीआई २०२३ सूचकाङ्कमा रहेको नेपालको विषम स्थितिलाई मध्यनजर गर्दै भ्रष्टाचार विरुद्ध सरकार अति गम्भीर हुन पर्ने देखिन्छ ।
१ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ ।

