नफर्किदे न ए मन पछाडि
विगतले सधैँ रुवाउँछ मलाई
नसम्झिदे न ए मन कसैलाई
सम्झनाले तड्पाउँछ मलाई ।।

पख ए मन नकुदिदे अगाडि
भविष्यको चिन्ता लाग्छ मलाई
नदेखाइदे सपना नगिरदे कल्पना
गहिराइदेखि डर लाग्छ मलाई ।।

नगरिदे न ए मन माया कसैलाई
धोकाको भूतले तर्साउँछ मलाई
नगरिदे न ए मन विश्वास कसैलाई
घातको छायाँले पछ्याउँछ मलाई ।।

नकुदिदे न बाहिरी सुन्दरताको पछि
भित्री कुरुपताको आभाष हुन्छ मलाई
नखोजिदे न ए मन सहयोग कसैको
स्वार्थको दुर्गगन्ध आउँछ मलाई ।।

नगरिदे न ए मन यहाँ आशा कसैको
तुषारापातको शङ्का लाग्छ मलाई
नबनिदे न ए मन दयालु कसैमाथि
चाकडीको आरोप लाग्छ मलाई ।।

नदेन ए मन यति धेरै महत्व कसैलाई
मूल्यहीन हुने डर लाग्छ आफैलाई
नराखिदे न ए मन मुटुमा कसैलाई
मुटु जलाइदिने खतरा हुन्छ मलाई ।।

नगरिदे न ए मन लोभ केही कुराको
बेइमान, पापी र भ्रष्ट बन्ने डर छ मलाई
नगरिदे ए मन पद, शक्ति र पैसाको रहर
घमण्डी बन्छु कि भन्ने डर लाग्छ मलाई ।।

नजगाइदे न ए मन रिसराग र क्रोध ममा
आफैलाई जलाउँछु भन्ने डर लाग्छ मलाई
नभरिदे न ए मन अहमता र कुलत मभित्र
विनास र पश्चातापले चियाउँछ मलाई ।।

पुराइदे न ए मन एक त्यस्तो समाजमा
जहाँ स्वतन्त्रता र सम्मान मिल्छ मलाई
घुमाइदे न ए मन एक मात्र त्यस्तो ठाउँ
जहाँ सन्तुष्टि र शान्ति मिल्छ मलाई ।।

– नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *