काठमाडौं, असाेेज २७
नेपालका वरिष्ठ मूर्तिकार तथा क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनयात्रामा आधारित “शान्त स्वभावका” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

१२ मिनेट लामो उक्त भिडियोमा कुमालेको बाल्यकालदेखि हालसम्मको कलाजगत्मा समर्पित योगदानलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतमा गायन र संगीत नरेन्द्र प्यासीले दिएका छन् भने गीतकार प्रेम महर्जन हुन्। भिडियोको छायांकन र सम्पादन लुजा सिंहले गरेका हुन्।

सार्वजनिक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले नेपाली कलाकारहरूको सीप र प्रतिभाले अन्तर्राष्ट्रिय बजारमा प्रशंसा पाए पनि स्वदेशमा त्यसको मूल्याङ्कन पर्याप्त रूपमा हुन नसकेकोमा खेद व्यक्त गरे। उनले भने, “हाम्रो देशका कलाकारको योगदानलाई ससम्मान सम्झने संस्कार विकास हुन आवश्यक छ।”

त्यसैगरी भिडियोका सम्पादक लुजा सिंहले कुमालेको सिर्जनात्मक सिप अन्य कलाकारका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। उनका शब्दमा, “यस्ता प्रयासहरूले कला र कलाकारलाई ओझेलमा पर्नबाट जोगाउनेछन्।”

क्रोधकला फाउण्डेशनका अध्यक्ष राकेश अवालेले कुमालेजस्ता व्यक्तित्वले देश मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली कलाको पहिचान बनाएको उल्लेख गर्दै भने, “भविष्यका पुस्ताले उहाँको योगदान बुझ्न यो भिडियो महत्वपूर्ण दस्तावेज बन्नेछ।”

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, फाउण्डेशनका पदाधिकारी तथा कलाकार, स्रष्टा, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम कुमालेको ९३औं जन्म वर्षको अवसरमा क्रोधकला फाउण्डेशनको आयोजनामा सम्पन्न गरिएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *