काठमाडौं, असार १६

नयाँ बानेश्वरस्थित चिया सागर रेस्टुरेन्टको खुला प्रेक्षालयमा ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालकाे संयुक्त आयोजनामा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न गरिएको छ। प्रतिष्ठानको २१९औँ श्रृङ्खलाअन्तर्गत आयोजित यस कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व रह्यो।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका खनाती काशिराज आचार्यले आदिकविले नेपाली भाषामा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँको योगदान समस्त नेपाली भाषीको साझा गौरव भएको बताए। चुँदी रम्घाको ऐतिहासिक र सांस्कृतिक मूल्यका साथै विकास योजनाको पनि उल्लेख गर्दै उनले आयोजक संस्थालाई धन्यवाद प्रकट गरे।

विशिष्ट अतिथि प्रा. डा. गोविन्दमान सिंह कार्कीले भानुभक्तको जीवनीसँग जोडिएका ऐतिहासिक पाटाहरूलाई उद्घाटन गर्दै नेपाली समाजको चित्रण गर्ने उहाँका कृतिहरूको प्रशंसा गरे। उनले भानुभक्तले तत्कालीन समाजलाई नजिकबाट बुझेर साहित्य सिर्जना गरेको उल्लेख गर्दै कविता पनि सुनाए।

आदिकविका खनातिनी प्रभा भट्टराईले चुँदी रम्घाका आचार्य परिवारका तर्फबाट भानुभक्तको योगदानप्रति सम्मान प्रकट गर्दै कविता वाचन गरिन्। त्यस्तै, बिमल भौकाजी, ज्ञाननिष्ठ ज्ञवाली, सुनिता राई कन्दङ्वा लगायतका स्रष्टाहरूले पनि आदिकविप्रति समर्पित कविता वाचन गरेका थिए।

कार्यक्रममा देशभरका साहित्यकारहरू — मधुसुदन प्रसाद घिमिरे, दिनेश कुमार शर्मा, राजाराम राउत, मुकुन्द पौडेल, जयन्ती आचार्य, राकेश कुमार झा रसिक, कृष्णप्रसाद पराजुली शिशु, अमर अधिकारी, दिलबहादुर चौधरी, बुद्धिमान महर्जन, मञ्जुश्री प्रधान, शान्ति शर्मा, कल्पना काफ्ले, नीला घिमिरे, हिमानी शाह, डा. किस्मत भण्डारी लगायतले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको स्वागत दिनेश कुमार शर्माले गरे भने सञ्चालन निरा श्रेष्ठले कविता वाचनसहित प्रभावशाली रूपमा गरिन् ।

    By admin

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *