ललितपुर, जेठ २७

गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको ७ दिने उद्यमशील व्यवसायिक तालिम सोमबार सम्पन्न भएको छ। तालिममा नगरपालिकाका १४ वटै वडाबाट दुई-दुई जना गरी जम्मा २८ जना महिलाहरूले सहभागिता जनाएका थिए।

तालिममा सहभागीहरूले लाइजोल, कोलीन, पिताम्बर, ह्याण्डवास लगायतका घरेलु सरसफाइ सामग्रीहरू निर्माण गर्ने सीप सिकेका थिए। तालिमको उद्देश्य सहभागी महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारतर्फ अग्रसर गराउने रहेको थियो।

समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले तालिममार्फत प्राप्त ज्ञान र सीपलाई घरमै सीमित नराखी व्यवसायका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाहरूले आत्मसम्मानसहित आर्थिक आय आर्जनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै महिला आर्थिक सशक्तीकरणमा यस्ता तालिमहरू महत्वपूर्ण हुने उल्लेख गरिन्।

उक्त तालिम सामाजिक संस्था ‘नयाँ किरण नेपाल’को सहकार्यमा सञ्चालन गरिएको हो। संस्थाकी अध्यक्ष रिजना तुलाधरका अनुसार तालिमले महिलाहरूलाई सफल व्यवसायी बन्न प्रेरणा दिने लक्ष्य लिएको थियो। उनले भनिन्, “सीप सिकेर महिलाहरूले आफ्नै व्यवसाय सुरु गर्न सक्ने वातावरण बनाउन तालिम सञ्चालन गरिएको हो।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *