ललितपुर, माघ २१
कोन्ज्योसोम गाउँपालिका–१, चौंघरे, गोङ्गाबाटोलस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा अध्ययनरत १३९ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ। जाडोबाट बचाउन, विद्यार्थीलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, बाढीपहिरोबाट त्रसित विद्यार्थीको मनोबल बढाउन तथा तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार (मञ्जुश्री सम्वत २८६१, डुल ल्हो, सा पुख्री – सर्प वर्ग) को अवसरमा उक्त सहयोग प्रदान गरिएको हो।
कार्यक्रम लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा तथा गोदावरी नगरपालिका–१२, ठेचोकी वासिन्दा एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छालाल तामाङको सभाध्यक्षतामा तथा वडा अध्यक्ष सन्तलाल ग्याबा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सामाजिक अभियन्ता निर्मला क्षेत्री विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तामाङ र विशेष अतिथि क्षेत्रीले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा विद्यालयमा कार्यरत १२ जना शिक्षक र कर्मचारीलाई डायरी र डटपेन वितरण गर्नुभयो।
कार्यक्रमका दौरान सामाजिक अभियन्ता निर्मला क्षेत्रीलाई सामाजिक कार्यमा विशेष योगदान पुर्याएबापत कोन्ज्योसोम गाउँपालिका–१ नं. वडा कार्यालय र श्री ज्ञानोदय आधारभूत विद्यालय परिवारद्वारा तयार पारिएको सम्मानपत्र प्रमुख अतिथि एवं वडा अध्यक्ष सन्तलाल ग्याबा तामाङले प्रदान गर्नुभयो।

