ललितपुर, माघ २०

कुमारीपाटी जावलाखेल विकास संस्थाले व्यापारिक महोत्सव तथा रात्रीकालीन बजारको आयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले जावलाखेल क्षेत्रको साना, मझौला तथा ठूला उद्योग, कृषि, व्यापार, पर्यटन लगायतका क्षेत्रमा प्रवर्द्धन गरी स्थानीयको आम्दानी वृद्धि गर्ने, राजस्व अभिवृद्धिमा टेवा पुर्‍याउने तथा पूर्वाधार विकासलाई बल दिने लक्ष्य लिएको छ।

संस्थाका अध्यक्ष पुष्प रत्न शाक्यले रात्रीकालीन बजार आगामी फागुन महिनामा आयोजना हुने जानकारी गराए। उनले उक्त बजारले स्थानिय उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै समाजमा लैंगिक समानता, जातीय सद्भाव, सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले व्यापारिक महोत्सव र रात्रीकालीन बजार आयोजना गर्न संस्थाले अघि सारेको पहललाई महानगरपालिकाले साथ दिने प्रतिबद्धता जनाए। साथै, उनले मेलासम्बन्धी महत्वपूर्ण निर्णय गर्दा सम्बन्धित वडाध्यक्षहरूसँग समन्वय गर्न सुझाव दिए। रात्रीकालीन बजार व्यवस्थापन गर्दा आवागमनका लागि उचित विकल्प सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले समग्र विकासका लागि सबै मिलेर एकताबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको बताइन्। उनले रात्रीकालीन बजारमा साना उद्यम, स्थानीय उत्पादन र सीपमूलक व्यवसायलाई समावेश गर्न सकिने उल्लेख गरिन्।

यसैगरी, वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जनले संस्थाको पूर्ण विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए। उनले वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

यस अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय व्यवसाय प्रवर्द्धन, आर्थिक विकास, पूर्वाधार निर्माण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *