काभ्रेपलान्चोक, माघ १६
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, जिल्ला कार्यसमिति काभ्रेपलान्चोकको आयोजनामा पनौतीस्थित श्री प्राणनाथ माईती वृद्धाआश्रममा जेष्ठ नागरिकसँग युवा भेटघाट कार्यक्रम तथा १०८ मेहेरसागर पाठ तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम २०७८ माघ १६ गते सम्पन्न भएको हो। परिषद्ले आफ्नो ३५औं स्थापना दिवसको पूर्व सन्ध्यामा समाज सेवाको महत्वलाई उजागर गर्दै जेष्ठ नागरिकहरूसँग आत्मीयता साटासाट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
परिषद्ले “सेवा नै धर्म हो” भन्ने सन्देशलाई आत्मसात गर्दै समाजमा मानवीय सेवा पुर्याउने कार्यमा निरन्तर क्रियाशील रहँदै आएको छ। धर्म, संस्कृति र दुर्व्यसनमुक्त समाजको परिकल्पनासहित २०४७ माघ १८ गते स्थापित परिषद्ले हाल ३३ सदस्यीय केन्द्रीय समिति, ५ प्रदेश समिति, ४९ जिल्ला समिति, १० वैदेशिक समन्वय समिति, १९५ प्रारम्भिक समिति र ८ केन्द्रीय विभागहरू सञ्चालन गर्दै आएको छ। परिषद्मा हाल करिब १५ हजार सदस्यहरू आबद्ध छन्।
कार्यक्रमका बारेमा जानकारी दिँदै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका सचिव सन्तोष बजगाईले परिषद्ले मानव सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका अध्यक्ष प्राणनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।
