काठमाडौं, माघ ४

आजको परिस्थितिमा युवा शक्तिहरूको राजनीति प्रवेश अत्यावश्यक छ। भ्रष्ट नेताहरूको गलत आचरणलाई राजनीति मान्न सकिँदैन, किनकि कुनै पनि ठूला पार्टीको विधानमा गलत निर्देशन उल्लेख गरिएको हुँदैन। पार्टी खराब छैन, खराब त गलत व्यक्तिहरू हुन्। राजनीतिलाई सही अर्थमा नबुझ्नेहरूका लागि सत्ता मात्र महत्त्वपूर्ण हुन्छ, जुन उनीहरूले पैसाका आधारमा प्राप्त गरेका हुन्छन्।

सही राजनीति भनेको सदैव जनताको हितमा काम गर्ने हो। वरिष्ठ बामपन्थी नेता विष्णु बहादुर मानन्धरज्यूजस्ता प्रेरणादायी व्यक्तिहरूले मलाई राजनीति बुझ्न र त्यसको सही अभ्यास गर्न सिकाउनु भएको छ। मेरो प्रेरणाको अर्को स्रोत मेरी आमा हुनुहुन्छ, जसले जीवनभर महिलाहरूको अधिकारका लागि आवाज उठाउँदै आउनुभएको छ। उहाँको अथक संघर्षले मलाई सधैं ऊर्जा दिएको छ। मेरी आामा महिला अधिकारवादी नेतृहरू संग २०६३ सालमा महिलाको पैत्रिक र अन्य अधिकार प्राप्तिको लागि संसदभित्रको संसद दीर्घामा समेत गएर बिरोध प्रदर्शन गरेको इतिहास मेरो स्मरणमा अझै कायमै छ।

मेरो आमाले आफू बूढी भए पनि महिलाहरूको हक र अधिकारका लागि कहिल्यै लडाइँ रोक्नुभएको छैन। उहाँको त्यही साहसले मलाई पनि प्रश्न गर्न सिकाएको छ– आखिर उहाँले कसको लागि यति जुझारु भएर हिँडिरहनुभएको छ? यसको उत्तर अहिलेको अवस्थामा नेपाली महिलाले बल्ल पाएको ३३% राजनीति अधिकार हो।

अब, हामी सबैको दायित्व हो– राजनीतिलाई मैलो हुन नदिनु र सत्यको मार्ग अपनाउँदै यसको सही अर्थ चिनाउनु। युवा शक्तिले यस जिम्मेवारीलाई बोकेर समाज र देशको वास्तविक परिवर्तनमा भूमिका खेल्नुपर्छ। राजनीति भनेको सत्ता होइन, जनताको हितका लागि निरन्तर सेवा हो। मलाई यस यात्रामा साथ दिनुस्।


नेपाल महिला फेडरेसन
सचिब
आशा महर्जन

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *