ललितपुर, पुस २९
जिल्ला प्रहरी कार्यालय चापागाउँले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागि नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका सभापति प्रहरी वृत्त चापागाउँका प्रमुख प्र.ना.उ. डिल बहादुर मल्लले समाजमा आपतविपद् तथा अप्ठ्यारो पर्दा प्रहरीको आवश्यकता पर्ने बताउँदै अपराध नियन्त्रणका लागि प्रहरी र समाजबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
प्रहरी प्रमुख मल्लले समाजले प्रहरीलाई विश्वास गरेमा मात्र अपराध नियन्त्रण सम्भव हुने बताए। उनले प्रहरी समाजको सहयोगबिना प्रभावकारी हुन नसक्ने र दुवै पक्षबीच विश्वास र सहयोग आवश्यक रहेको धारणा राखे।
प्रमुख अतिथि ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले नागरिकका गुनासा र समस्याबारे जवाफ दिँदै तत्काल समाधानका प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले अपराध नियन्त्रणका लागि सबै नागरिकले सहकार्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा फुटपाथ हटाउने, दुर्घटना न्यूनीकरण, ट्रिपर सञ्चालनको समय निर्धारण, शान्ति सुरक्षा, विद्यालयका विद्यार्थीलाई जेब्रा क्रसिङको शिक्षा, सडकमा निर्माण सामग्री व्यवस्थापन र पार्किङ व्यवस्थापन जस्ता विषयमा छलफल भयो।
