ललितपुर, पुस ८
ख्रीष्टियन जर्नलिष्ट फेलोसिप नेपाल (CJF-Nepal) ले ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका नवनिर्वाचित नेतृत्वलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङले ख्रीष्टमस चाहिँ अशान्ति माथि शान्ति र मृत्यु माथि जिवनकाे विजय दिन भएकाे बताए । उनले ५१ वर्षदेखि ख्रीष्टियन धर्ममा क्रियाशील रहँदै आएको बताउँदै धर्म परिवर्तन नभएर आस्था परिवर्तन गर्ने अधिकारलाई संरक्षण गर्नुपर्ने धारणा राखे।
तामाङले ख्रीष्टियन धर्मका अनुयायीहरूमा चरित्रहत्या गर्ने खालका समाचार लेख्न बन्द गराउन नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराएका थिए। सत्य, तथ्य र गुणस्तरीय समाचार लेखनका लागि पत्रकारहरूलाई आग्रह गर्दै उनले ख्रीष्टमसको मर्मलाई सही ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथि तथा महासंघ ललितपुरका अध्यक्ष राम हरि कार्कीले ख्रीष्टियन जर्नलिष्ट फेलोसिपसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए। उनले पत्रकारिताको क्रममा आउने चुनौती समाधान गर्न महासंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको सभाध्यक्ष तथा CJF-Nepal का अध्यक्ष दिनेश श्रेष्ठले पत्रकारसँग सहकार्य गरेर सत्यतथ्यमा आधारित समाचार लेखनको वातावरण तयार गर्ने बताए।
ख्रीष्टमस र यशुको शिक्षामा आधारित यो कार्यक्रममा सहभागिहरूले ख्रीष्टमसको महत्त्व र विश्वव्यापी रूपमा ख्रीष्टियन धर्मको फैलावटबारे छलफल गरेका थिए। “यशुलाई विश्वास गर्ने जोसुकैले मुक्तिको अनुभूति पाउँछ,” भन्ने धारणा प्रस्तुत गर्दै कार्यक्रम समापन भएको थियो।
