म मन्दिरहरू जाने गर्दछु,
मूर्ति देख्दछु अनि मनमनै सोच्दछु
मान्छेहरू लम्पसार पर्छन्, लडिबुडी गर्छन्
रुन्छन्, कराउँछन्, भावविह्वल हुन्छन् ।
पापमोचन माग्छन्, अपराध माफी माग्छन्
ऐश्वर्य माग्छन्, हाँस्दाहाँस्दै रुन्छन्
रुँदारुँदै हाँस्छन्, कोही दोहोरो कुरा गर्छन्
कोही एकोहोरो बर्बराउँछन्, म अन्योलमा पर्छ !
के भगवान्ले साँच्चिकै हेरिरहेका छन् त ?
यी माग्ने मगन्तेहरूको आवाज सुन्छन् त ?
यिनका पाप र अपराध सबै पखाल्छन् त ?
आफैँमा प्रश्न गर्दै उत्तर खोज्दै निस्किन्छु ।
तर पनि म सधैं मन्दिर जान्छु
मान्छेसँग नझुक्ने अहङ्कारीको अहङ्कार झुकेको हेर्न ! भोको पेटमा लात हान्नेको स्नेह गिडगिडाएको नियाल्न, अपराधले भरिएको आत्माले शीतलता खोजेको हेर्न।
बलात्कारीको बल मूर्तिसँग स्खलित भएको हेर्न भ्रष्टाचारीहरूको मन सुक्सुकाएको सुन्न
पदार्थको तत्त्वज्ञानी पण्डितको ढोग हेर्न
ब्रह्मज्ञानका व्यापारीहरूको चटके मेला हेर्न ।
के यिनीहरू सबै काल्पनिकतामै रमाइरहेका हुन् त ?
के यी सबै नाटकै गरिरहेका हुन् त ?
जस्तै कुकर्म गरे पनि मन्दिर पुगेर
शान्ति र खुसी पाएका होलान् त ?
तैपनि म मिलेसम्म मन्दिर जान्छु ।
सायद,
म अल्पज्ञ छु होला भक्त नामका स्वार्थीहरूको रोइलो देख्छु बाहिर भित्र माग्ने भिखारीहरूको भिड देख्छु
मानवभित्रको दानवतालाई देख्छु
समाजसेवी नामका ढाँगीहरू भेट्छु ।
थरीथरीका भक्तहरू नियाल्न पाउँछु !
त्यसैले म मिलेसम्म मन्दिर धाउँछु ।
– जगतलाल महर्जन (स्वागतम)
