साउन, १३, ललितपुर ।
सातोआकी इतो स्मृति दिवसमा चित्रकला प्रतियोगिता
सातोआकी इतो स्मृति दिवस तथा तिसौँ वार्षिकोत्सवको अवसर पारी चित्रकला प्रतियोगिता आयोजना गरियो । उक्त चित्रकला प्रतियोगिता कार्यक्रम प्रतिभा समाजको आयोजना तथा योङ पिकासोको प्राविधिक सहयोगमा भएकाे हाे ।

“यो कुनै प्रतियोगिता होइन; कसैले पनि जित्नै पर्छ वा हारिन्छ होला भन्ने त्रास नलिनुस् । आफूले सकेसम्म राम्रो कला देखाउने प्रयत्न गर्नुहोस् । तपाईँहरू सबै विजेता हुनुहुन्छ । त्यसैले त अहिले यहाँ उपस्थित भएर राम्रा चित्र बनाउने तरखर गर्दै हुनुहुन्छ भनी किरण नरसिं शाक्यले सहभागी बालबालिकालाई राम्रो चित्र सिर्जना गर्न हौस्याउनुभयो ।

प्रतिभा समाजका अध्यक्ष शाक्य सुरेनले प्रतिभा समाज र बुक बैङ्का बारेमा जानकारी दिँदै बालबालिकाहरूलाई प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, “सय जना जवान दौडिँदा सबै प्रथम हुँदैनन्; प्रथम त एक जना नै हुने हो । प्रथम नभए पनि दौडन सक्नु उनीहरूको क्षमता हो । यहाँ नानीबाबुहरू पनि सबै जना प्रथम हुन सक्नुहुन्न तर तपाईँहरूले यति राम्रा चित्र बनाउनुभएको छ; त्यसैले तपाईँहरू सबै नै विजेता हो ।”
प्रशिक्षक अजय देशारले हतार नगरी पूरै समय सदुपयोग गर्दै शान्तसँग आफ्नो कला देखाउन आग्रह गर्नुभयो । साहित्यकार सोमनाथ दाहालले चित्रकलासँग सम्बन्धित कविता वाचन गरी सहभागीहरूलाई प्रेरित गर्नुभयो । प्रशिक्षक देशारले छत्तिस विद्यालयका चालिस जना बालबालिका सहभागी रहेकाे बताउनुभयो ।

प्रतियोगितामा बालकिशोर चौधरी, सितु मास्के र प्रिन्स महर्जनले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सिनियर सहभागीतर्फ प्रथम- नोरिन श्रेष्ठ, द्वितीय- पालिजा महर्जन, तृतीय- जेनिसा बज्राचार्य र चतुर्थ प्राज्ना श्रेष्ठ भए भने जुनियरतर्फ प्रथम- उत्सव चौधरी, द्वितीय- श्रिजल अधिकारी, तृतीय- आशिर्या देसार चतुर्थ मैत्री शाक्य र सान्त्वोना नुसला श्रेष्ठ भए भने बिशेस पुरस्कार इन्द्रेणी प्रधानले जितेकी थिइन्।

प्रतिस्पर्धाका विजेताहरूलाई यही साउन १६ गते बुधबार दिउसो १ बजे सातोआकी इतो स्मृति भवनमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यद्वारा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको प्रशिक्षक अजय देशारले जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा उपस्थित महानुभाव तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *