ललितपुर, चैत १३

ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा २ जनाको हत्यामा संलग्न भएकाे आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हाे। प्रहरीका अनुसार घटनामा संलग्न एक जना भने फरार छन्।

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने रेस्टुरेन्ट सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर–१५ खुमलटार बस्ने रेस्टुरेन्ट सञ्चालक ३० वर्षीय सुलभ राई रहेका छन्।

यसैगरी भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण स्थायी घर भई हाल ललितपुर–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेड्वीहाङ राई छन्।

फरार रहेकाको खोजी भइरहेको र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार पक्राउ परेका ४ जना र फरार एक जनासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ।

आइतबार राति १० बजे ढोलाहिटीस्थित विजय राईले सञ्चालन गरेको ‘डी पोपिना’ रेस्टुरेन्टमा युवाहरूको समूहबीच विवाद भएकाे थियाे। तिहारकाे समयमा साहिल श्रेष्ठले छिङबिहाङ राईलाई हाेच्याए अपशब्द बाेलेकाे विषयमा विवाद भएकाे थियाे।

साेही क्रममा रेस्टुरेन्ट सञ्चालक राई समेतले भान्सामा रहेको चक्कुले प्रहार गर्दा जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका-६ स्थायी वतन भएको २७ वर्षीय पुजन राई र सुनसरी धरान उपमहानरपालिका-१३ जिरो प्वाइन्ट स्थायी घर भएको २८ वर्षीय रेवश राई गम्भीर घाइते भएका थिए। उनीहरूकाे उपचारको क्रममा सोही दिन राति मृत्यु भएकाे थियाे।  

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *