शिक्षाको ज्योति छरिदिने
क्षमता बुद्धि ज्ञान भरिदिने
कला र सिप सिकाइदिने
शिक्षक हौ बाटो देेखाइदिने ।।
सिर्जनाको दियो बालिदिने
अन्धकार मनको फालिदिने
चम्किलो भाग्य लेखाइदिने
शिक्षक हौ बाटो देखाइदिने ।।
कापी र कलम थमाइदिने
सिकाउन हात समाइदिने
हामीसँगै खेली रमाइदिने
शिक्षक हौ बाटो देखाइदिने ।।
बाबा र आमा साथी बनिदिने
सोधेको कुरा हाँसेर भनिदिने
हाम्रो लागि नाच्ने र गाइदिने
शिक्षक हौ बाटो देखाइदिने
राल र सिँगान आँसु पुछिदिने
बालिच्छा भावना रुचि बुझिदिने
हाम्रो लागि नाच्ने र गाइदिने
शिक्षक हौ बाटो देखाइदिने ।।
चकचक हैरानी दुख सहिदिने
धराले डाक्टर नर्स भइदिने
रुँदा र रिसाउँदा फकाइदिने
शिक्षक हौ बाटो देखाइदिने ।।
कौतुहलता जिज्ञासा मेटाइदिने
हरसमस्याको उपाय भेटाइदिने
नैतिक र अनुशासित बनाइदिने
शिक्षक हौ बाटो देखाइदिने ।।
– नरिश्वर गौतम
