काठमाडौं, माघ २९

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरूसहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको भनाइ राखे । 
प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो ।

क्यान इन्फोटेक २०२४ को मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा (S-power CAN Info-Tech 2024 in association with HMC DAHUA) रहेको छ । 

प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता रहेको थियो, यसअन्तर्गत प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे । 

आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए । 

यसै बीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारिसकिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *