पुस माघको जाडोलाई
कसले छेक्न सक्छ र ?
दुई विचको प्रेमलाई
कसले रोक्न सक्छ र ?
तुवाँलोले ढाकेको संसार
मायाले बांँढेको जिन्दगी
मनको बाँधले खोजीरहने
न्यानो स्पर्शका लालीहरू ।
समय बलवान छ ।।
हिजो पुर्खाको अमृततुल्य जिन्दगी
सानो मेहनत
अमुल्य परिश्रम
दिर्घायू बिचार
लामो आयू
तर आज विभ्रंशका जिन्दगी ।।
आत्मा सङ्कलनका भय
सतरन्जका चालझै
कोल्टे फेरेका कौतुहलताका आयामहरू
आकाश धर्तिको अवतरण विच
ओझेल पर्दै गएका भावना
बयलवान् बन्दै मानव जीवनको विचित्रता
एक रटन्त उर्वशीझै बिलाउदैछ
वायूसङ्ग ।
कहाँ छ त्यो रमाइलो
बिहानीको लालीमा बालापन बिउँझेझै
साथीसंगीनी विचको श्रद्धाभाव
हिमाली शृङ्खलाबाट झरेको पबित्रताझै
एकै आँगनको दौँतरी
पन्छीझै उडान भर्दै,पहरामा रमाउँदै
नागबेली रूपमा सलवँलाउँदै सलवँलाउँदै
उत्शृखङ्ला पार गरेकाहरू
हिजो आज कुवाँको पाहाँझै
कुना समाउँदै छन्
आफ्नै सन्तानबाट टाढा भएर ।
छन् आफ्नाहरू संसारको कुना कुनामा
छन् आफ्नोपन पलाएका मुनाका पातहरूमा
ढलेको वृक्ष बिउँझन् नसक्ला
मुनाको रहर छेक्न नसक्ला
रगत एकै नाता उस्तै
दुई प्राणधनको जिन्दगी
जूनसंग खेलेका ताराझै
माहुरी महको चाकामा झुम्मेझै
लिभिङ्ग टु गेडरमा
अनुहारमा प्रर्दाले छेक्दैछ आज
बिदेशी भुमीको रमरम ।।
– पारदर्शी“बुद्धिमान महर्जन
महालक्ष्मी ३ इमाडोल,ललितपुर ।
