आज बिहान अबेरसम्म निद्रा खुलेन
सपना सधैँ भुल्ने मनले आज भुलेन
बिउँझे पनि उठ्ने कत्ति जाँगर चलेन
खाना खाने बेलासम्म चुलो बलेन ।।

सबेरैमा खुल्ने ढोका आज खुलेन
बिहान झर्ने पारिजात आज फुलेन
सिर्जनाको बोटमा आज शब्दै फलेन
खोइ आज मेरो कलम किन चलेन रु

कल्पनामा डुल्ने मन आज डुलेन
शब्दरसमा घुल्ने मिठास आज घुलेन
आँखाअघि उभिएको तस्बीर ढलेन
सधैँ कुद्ने मेरो कलम आज चलेन ।।

पानी चियाकफी प्यास आज जागेन
बिहान गयो दिन ढल्यो भोक लागेन
यो दिलबाट उनको याद अझै भागेन
मनले उनको साथबाहेक केही मागेन ।।

टोलाइरहने आँखा पनि अझ थाकेन
उदास रह्यो मनले आज खुशी डाकेन
कृत्रिम हाँसो मुस्कानले पीडा ढाकेन
यो मनले अतीतबाहेक अन्त ताकेन ।।

हुरी चल्दा शान्तिदीप बल्नै सकेन
जे गर्दा नि मनले पिडा छल्नै सकेन
खुशी दिने बोटमा केही फल्नै सकेन
लेखिरहने कलम आज चल्नै सकेन ।।

– नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *