ललितपुर, माघ १४

गोदावरी नगरपालिका-६ स्थित आनन्दवन अस्पतालमा आजबाट ट्रमा र इमर्जेन्सी सेवा सञ्चालन गरेको छ । आज ‘कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ ७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आनन्दवन अस्पतालमा ट्रमा र इमर्जेन्सी विङ्ग संचालन गरेको हो ।

ट्रमा र इमर्जेन्सी सेवाले बाल चिकित्सा र सुविधायुक्त एनआईसीयू, प्रसूति गृह, सर्जिकल वार्ड, दुर्घटनापछिको सूक्ष्म उपचार, क्रिटिकल केयर युनिट र इन्सेटिभ केयर युनिट सहितको सेवा तथा सुविधा दिने अभिप्रायका साथ अस्पताल परिसरमा उक्त विङ सञ्चालनमा ल्याएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यस अस्पतालले दिएको सस्तो सुलभ सेवा सुविधाहरू आम नागरिकलाई थाहा नभएकोले यसको व्यापक प्रचार प्रसार गर्नु आवश्यक भएको बताए । उनले आम नगरीलाई अस्पताल जाने पहुँचबाट रोक्नुपर्ने बताउँदै, बज्रबाराही अस्पतालमा छिट्टै लाब सेन्टर राख्न लागेको बताए । उनले भने- ‘ल्याब टेस्ट बाट रोगको पहिचान गरेर कुन रोग लागेको हो, यसको लागि कुन औषधि खाने र कुन अस्पताल जान्ने भन्ने कुरा थाहा पाउँछ ।‘

कार्यक्रमका सभापति महेश शाहले कुष्ठरोग पुरानो र किटाणुबाट हुने भएकोले समयमा नै औषधी उपचार गरेमा निको हुने बताए । १४ वर्षका बालबालिकाहरूमा पनि कुष्ठरोग देखा परेको हुनाले यो रोग हाम्रो समाजमा घुमिरहेको बताए ।

यस अस्पतालका प्रशासन प्रमुख शेयर गुरुङ्गले ट्रमा बनेको करिब १ वर्ष भइसकेको र विविध कारणले सुरु गर्न नसकेको बताए । उनले ट्रमा सेवमा ५० बेड भएको बताए । यस सेवाका लागि चिकित्सक १७ जना, नर्स तथा सहयोगी ३० जना रहेको जानकारी दिए ।  ट्रमा सेवा सुविधा एकदम सस्तो र सुल्भमा दिने गुरुङ्गले बताए ।

हाल सन् २००५ देखि दि लेप्रोसि मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विशेषज्ञ अस्पताल हो। यस संस्थामा कुष्ठरोगको लागि ८० बेड निशुल्क र ३० बेड हाडजोर्नी तथा अन्य रोगको लागि सशुल्क गरी जम्मा ११० बेड सञ्चालित छन् । साथै, दक्षिण ललितपुरका जनमानसलाई मध्यनजर गर्दै दि लेप्रोसी मिसन नेपालले आनन्दवन अस्पतालले ४० बेड थप गरी सेवा दिदैछ। यस अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाको साथै हाडजोर्नी, छाला तथा यौन रोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियो थेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरे र आवश्यकता अनुसार नक्कली खुट्टाको साथै विशेष जुत्तासमेत उपलब्ध छ ।

आनन्दवन अस्पताल एउटा कुष्ठरोगको जटिलता व्यवस्थापनको साथै रिकन्सट्रक्टीभ अप्रेशन सेवा प्रदान गर्ने राष्ट्रिय स्तरको रेफरल अस्पताल हो । यस संस्थाले कुष्ठरोगको कारणले हुने जटिल घाउको साथै स्वयं हेरचाह र पुर्नःस्थापना सम्मको सेवाहरू निशुल्क उपलब्ध गराउँदै आइरहेको छ । देशैभरका कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको आनन्दवन अस्पतालले ललितपुरको दक्षिणी भेगका नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पु¥याउँदै आइरहेको छ । यस अस्पतालले ५-७ वर्षमा कुष्ठरोग अन्त्य गर्ने परिकल्पना राखेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *