काठमाडौं, माघ ९
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको समय नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको हो।
सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे छ ।मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर वा सोझै यहाँ क्लिक गरेर गुनासो दर्ता गर्न सकिन्छ ।
प्राप्त गुनासोको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने मन्त्रालयका उपसचिव एवं इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए।
